काठमाडौँ । युरोपियन युनियन (इयु)ले नेपाललाई राखेको सुरक्षा सूची (कालो सूची)लाई निरन्तरता दिएको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै इयुले यस वर्ष पनि कालो सूचीबाट हटाउन नसकेको बताएको हो । इयुले नेपाल वायुसेवा निगमलाई देखाउँदै कालोसूचीलाई निरन्तरता दिएको हो ।
नेपालमा भएको स्थलगत अवलोकन तथा मूल्यांकन तथा यसकै आधारमा कात्तिक २८ मा बेल्जियमको राजधानी ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनको आधारमा कालो सूचीलाई निरन्तरता दिएको प्राधिकरणले जनाएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) पालना नगरेको, प्राधिकरणले वार्षिक गर्ने सम्परीक्षणमा औंल्याएका कमी कमजोरी सुधार नगरेको, सम्परीक्षण सूचीको गुणस्तर सुधार नगरेको, उडान समयको निश्चितता, हवाई कागजात व्यवस्थापन तथा सुझाव कार्यान्वयनजस्ता पक्षमा गम्भीर कमजोरी रहेको, वायुयानको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको छ ।’
इयुले श्री एयरलाइन्सका सम्बन्धमा वर्तमान कार्यपद्धति सन्तोषजनक रहे तापनि थप सुधारका लागि प्रभावकारी कार्यप्रणाली एवम् कार्यपद्धति अवलम्बन गर्दै जान विशेष पहलकदमी लिनुपर्ने प्रतिवेदनमा भनेको छ ।
श्री एयरलाइन्समा सम्परीक्षणका क्रममा इयु प्रतिनिधिले उडान सञ्चालन नीतिहरूमा व्यापक सुधार गर्नुपर्ने, उडान योजना, चालक दल थकान व्यवस्थापन डिआइसिङ प्रक्रियाको परिपालनासम्बन्धी आवश्यकताको परिपालना सुधार गर्नेपर्ने तथा विमानहरूको मिनिमम लिस्ट दुरुस्त नराखेको प्रतिवेदनमा लेखिएको छ ।
इयुले नेपालका प्रधानमन्त्रीको पहलकदमी, सरकारको प्रतिबद्धता तथा वर्तमान प्राधिकरण महानिर्देशकको गतिशील नेतृत्व र कार्यशैलीबाट प्रशंसनीय सुधार भएको औल्याउँदै यी उपलब्धिलाई निरन्तरता दिई भविष्यमा अझ बढी परिणाममुखी बनाउन राजनैतिक नेतृत्व एवम् सरकारको रचनात्मक भूमिका अपरिहार्य रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
हाल प्राधिकरणले अंगिकार गरेको संगठनात्मक संरचना, कानुनी प्रबन्ध एवम् नियमनकारी कार्यहरू पर्याप्त रहेको भन्दै नेपालको हवाई सुरक्षाको सुधारप्रति इयुले निरन्तर रुपमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
इयुले प्राधिकरणको संस्थागत संरचना विभाजन तथा विधेयकका बारेमा कुनै टिप्पणी गरेको छैन। इयुले प्राधिकरणलाई एकीकृत कार्ययोजना बनाउनुका साथै समय समयमा प्रगति विवरण बनाई पेश गर्न भनेको छ ।