logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:33 AM

  • सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

    सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव हुने


    पर्यटन नेपाल

    शुक्रबार, २९ मंसिर २०८०


    भरतपुर । चितवनको सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लागेको हो ।

    सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटेल सङ्घ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुराँ एण्ड बार एसोसिएसन नेपालको सह आयोजनामा पुस १० देखि १४ गतेसम्म मैनाहाचौरमा महोत्सव गर्न लागेको शुक्रवार सौराहामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

    कोरोनाका कारण २०७६ सालदेखि चितवन हात्ती महोत्सव हुन सकेको थिएन । पछिल्लो समय सौराहामा विदेशी पर्यटकको आगमन बढ्दै गएकाले महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए ।

    महोत्सवले अन्तर्राष्ट्रिय जगत्मा नेपालको पर्यटन विकासमा सहयोग पुर्‍याएको उनले बताए । साबिकको हात्ती महोत्सवलाई परिमार्जन गर्ने भन्दै यस पटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्ती पोलो हटाइएको छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज र डुङ्गा दौड प्रतियोगितालाई यथावत् राखिएको छ ।

    महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम राखिएको छ । स्थानीय कला, संस्कृतिको संरक्षण गर्दै कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने महोत्सवमार्फत लक्ष्य राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend