काठमाडौँ । काठमाडौँको चोभारस्थित मन्जुश्री पार्कमा ‘क्यानोपी जिपलाइन’ सञ्चालनमा आएको छ । अभिनेत्री वर्षा राउतले शनिबार जिपलाइन उद्घाटन गरेकी हुन् ।
जिपलाइन खेल्दा गरिने अनुभूति अनुसार पहिलो चरणलाई ‘एड्भेञ्चर’, दोस्रोलाई ‘डेयर डेभिल्स’ र तेस्रोलाई ‘द फन’ नामाकरण गरिएको छ ।
सबै चरणको जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ । जिपलाइनको कुल लम्बाई करिब ४ सय मिटर छ । उनले ३ चरणको जिपलाइनमा अन्यत्र भन्दा फरक र रोचक अनुभव लिएको बताइन् ।
जिपलाइनका क्रममा मन्जुश्रीले काटेको चोभारको आकर्षक गल्छी, जलविनायक मन्दिर, चोभारको गुम्बा, नवनिर्मित सुख्खा बन्दरगाह, चम्पादेवी र चन्द्रागिरी डाँडा, काठमाडौँ तथा ललितपुरका सुन्दर दृश्यावलोकन गर्न सकिनेछ । टेकअफ टावरबाटै सुन्दर हिमशृङ्खला देख्न सकिन्छ ।
कम्पनीले जिपलाइनको पूरै प्याकेज केही समयका लागि १२ सय रुपैयाँ प्रतिव्यक्ति उपलब्ध गराउने छ । तर पूरै नगरेर एक स्टेप मात्रै जिपलाइन गर्ने हो भने ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्नेछ ।
विद्यार्थी (परिचय पत्र सहित) र किर्तिपुर नगरपालिकाको वडा नम्बर ६ का स्थानीयले सबैखाले जिपलाइनमा २५ प्रतिशत छुट पाउनेछन् । एकान्तकुनाबाट मेडिसिटी हस्पिटल हुँदै २ किलोमिटरको दूरीमा मन्जुश्री पार्क पुग्न सकिन्छ । सार्वजनिक सवारीमा जाँदा रत्नपार्क वा लगनखेलबाट दक्षिणकाली जाने गाडी चढेर जान सकिन्छ ।
रिङरोडको बल्खुबाट जान पायक पर्नेले सिधै बल्खु गएर ३ किलोमिटर दक्षिण जाँदा पनि पुगिन्छ । बल्खुबाट सार्वजनिक सवारी सहजै पाइन्छ । दैनिक ३ सयदेखि ३५० जनासम्मले जिपलाइन खेल्न सक्छन् । जिपलाइन हरेक दिन बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुने छ ।