logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • सुर्खेत विमानस्थल विस्तारका लागि ६ बुँदे निर्णय, यस्ता छन् निर्णयहरु

    सुर्खेत विमानस्थल विस्तारका लागि ६ बुँदे निर्णय, यस्ता छन् निर्णयहरु


    पर्यटन नेपाल

    बुधबार, २५ पुष २०८०


    काठमाडौँ । विरेन्द्रनगर नगरपालिका स्थित सुर्खेत विमानस्थल विस्तारका लागि ६ बुँदे निर्णयहरु भएका छन् ।

    मङ्गलबार (हिजो) वीरेन्द्रनगर नगरपालिकामा उक्त विषयकाे छलफलका लागि सर्वदलिय तथा सर्वपक्षीय बैठक बसेको थियो । उक्त बैठकले यस्तो निर्णय गरेको हो । यसअघि वैकल्पिक विमानस्थल बनाउनुपर्ने हल्ला चलेको थियो तर अब भने सुर्खेत विमानस्थलको विस्तार गरिने भएको छ ।

    अहिले सञ्चालन भइरहेको उक्त विमान स्थललाई सुरक्षित तथा भरपर्दो बनाउन अति आवश्यक रहेको हुनाले भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकार मार्फत सङ्घिय सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

    विरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकालले विमानस्थल विस्तार गर्ने कुरामा नगरपालिका अग्रसर रहेको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । भेरीगंगाको रामघाटमा नयाँ विमानस्थल बनाउने कुरा चर्चामा आएपछि सरोकारवालाहरुले यस बिषयमा चाख राखेका थिए । यहि विषयलाइ मध्यनजर गर्दै सर्वदलिय तथा सर्वपक्षीय बैठक बाेलाइएकाे थियाे । उक्त बैठकमा सरोकारवालाहरुले वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

    बैठकमा प्रतिनिधिसभा सदस्य हृदयराम थानी, प्रदेश सभा सदस्यद्वय यामलाल कँडेल र जानकी सिंह, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख, पूर्व प्रमुख, उपप्रमुख, उद्योग वाणिज्य संघका पदाधिकारी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज लगायतका सरोकारवालाको उपस्थिति थियो ।

    यी हुन् निर्णयहरु :

    १. सुर्खेत विमानस्थलबाट दैनिक रुपमा बुद्ध एयरले २ र श्री एयरले १ वटा उडान सञ्चालन गरिरहेका छन्, जसले गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र संघीय राजधानी काठमाडौँबिच आउने जाने काम सहज बनाएको छ । हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन नगरी नहुने क्षेत्रको विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गर्ने ।

    २. सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा स्थानीयवासीहरुलाई उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गर्ने ।

    ३. कर्णाली प्रदेशको नमुनाको रुपमा रहेको विध्यालय श्री अमर ज्योति नमुना माद्यमिक विध्यालयमा हजारौँ विद्यार्थी अध्ययनरत भएको अवस्था र उक्त विद्यालय विमानस्थलको सिमानाको निकट छ, सुर्खेत विमानस्थलको विस्तार कार्यलाई सहज र छिटो छरितो गर्नका लागि उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रम सहित पहलकदमी लिन प्रदेश सरकारसँग समझौता गर्ने ।

    ४. कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलवाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग माग गर्ने र आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्ने ।

    ५. सुर्खेत विमानस्थलमा दैनिक रुपमा ३०० भन्दा वढी यात्रुहरु आवत जावत गर्ने विमानस्थलमा परिणत भएको अवस्था छ । तर भौतिक संरचनामा कुनै सुधार भएको अवस्था छैन । तसर्थ टर्मिनल भवन, यात्रु वस्ने स्थान, शौचालय व्यवस्थित लगायत आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरणसँग माग गर्ने ।

    ६. सर्वदलीय तथा सर्वपक्षीय बैठकवाट गरिएका निर्णयहरु कार्यपालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend