logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:27 AM

  • भारतको केरलामा द क्लिफको ‘सेटअप’ मा बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालन

    भारतको केरलामा द क्लिफको ‘सेटअप’ मा बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालन


    पर्यटन नेपाल

    बिहिबार, ११ माघ २०८०


    काठमाडौँ । ‘द क्लिफ’ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जी सहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ ।

    क्लिफले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा बन्जीको सेटअप तथा व्यवस्थापन सुरू गरेको हो । क्लिफका अध्यक्ष राजु कार्की, बन्जी क्रू प्रशिक्षक प्रकाश प्रधान सहितको प्राविधिक टोली यो परियोजनामा संलग्न रहेको कम्पनीका अध्यक्ष कार्कीले बताए ।

    प्रधान पहिलो नेपाली बन्जी मास्टर समेत हुन् । उनका अनुसार केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बञ्जी तथा अन्य साहसिक गतिविधि स्काईवाक, स्विङ (पिङ), सुपरम्यान स्विङको सेटअप गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफले उपलब्ध गराउनेछ ।

    ‘यो एक्टिभिटीजहरूको सेटअप र सञ्चालन हामीले हेर्ने गरी सहमति भएको छ,’ अध्यक्ष कार्कीले भने, ‘बञ्जीको सञ्चालनका लागि प्रशिक्षक तहका कर्मचारीहरूको लागि क्लिफसँग सहकार्य गरिएको हो ।’

    करिब ४० करोड भारुमा निर्माण भएको बन्जी सहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुनेछ । ८० मिटर उचाइ रहेको यस बञ्जीको नाम ‘क्रेन बञ्जी’ राखिएको छ ।

    दोस्रो चरणमा सञ्चालनमा आउने बन्जीको उचाइ भने १६० मिटरको हुनेछ । सो निर्माणधीन बन्जी सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउँछन् । यससँगै केरलाका अन्य तीन ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ ।

    मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा रहेको द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि त्यहाँका व्यवसायीले चासो राखेका थिए । आफ्नो क्षेत्रमा पनि बन्जी सञ्चालन गर्न सकिने विषयमा त्यहाँका व्यवसायीले चासो राखेपछि क्लिफको टिम केरलामा सम्भाव्यता अध्ययनका लागि गएको थियो ।

    ‘द क्लिफलाई नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा फैलाउने तयारी गरिरहेका बेला भारतीय लगानीकर्ताले राखेको प्रस्ताव स्वीकारेका हौं,’ अध्यक्ष कार्कीले भने, ‘भारतमा हाम्रो उपस्थिति मुलुककै लागि गर्वको विषय हो।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend