logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:20 AM

  • अब नेपाल एयरलाइन्सले सुर्खेतबाट कर्णालीका विभिन्न जिल्लामा उडान भर्ने

    अब नेपाल एयरलाइन्सले सुर्खेतबाट कर्णालीका विभिन्न जिल्लामा उडान भर्ने


    पर्यटन नेपाल

    शुक्रबार, १२ माघ २०८०


    काठमाडौँ ।  अब नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुर्खेतबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा उडान भर्ने भएको छ ।

    उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतबाट कर्णालीका विभिन्न जिल्ला जुम्ला, हुम्ला, सिमिकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न आग्रह गरेका हुन् ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको थियाे ।

    छलफलमा निगमका अध्यक्ष अधिकारीसहित सुर्खेतबाट हवाई सेवा दिने व्यवस्था मिलाउन गठित समितिका पदाधिकारीहरूको समेत सहभागिता थियो । छलफलमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट विभिन्न जिल्लामा हवाई सेवा दिने नेपाल एयरलाइन्सको दीर्घकालीन व्यावसायिक योजनामा आफ्नो, सङ्घीय सरकार र प्रदेश सरकारको साथ, सहयोग र समर्थन रहेको बताए ।

    निगमका अधिकारी र उपप्रधानमन्त्री खड्काबीच सुर्खेतबाट हवाई सेवा सुरु गर्न र त्यसको तयारीका लागि सुर्खेतमा नेपाल एयरलाइन्सको कार्यालय यथाशीघ्र स्थापना गर्ने बिषयमा समेत छलफल भएको छ । निगमका कार्यकारी अध्यक्ष अधिकारीले सुर्खेतबाट उडानको तयारी भइरहेको बताए । उनले भने,‘यसका लागि समिति पनि गठन गरिएको छ । हामी सुर्खेतबाट हवाई सेवा दिन तयारी गरिरहेका छौँ ।’

    त्यस्तै छलफलको क्रममा गठित समितिका सदस्य सचिव दीपेश पुनले माघभित्र तयारी पूरा गरी फागुनदेखि सुर्खेतबाट उडान गर्ने लक्ष्यका साथ काम अघि बढाउने बताए । उनले भने, ‘कर्णाली प्रदेशका अन्य जिल्लालाई हवाई उडानमार्फत सुर्खेतमा जोड्ने गरी काम गरिरहेका छौँ ।’

    उपप्रधानमन्त्री खड्काले निगमलाई हाल उपलब्ध सबै विमान उपयोग गरी देशभित्र र विश्वका विभिन्न गन्तव्यहरुमा उडान विस्तार गर्न रणनीतिक योजनाका साथ अघि बढ्न सुझाव दिए । उनले भने, ‘नेपाल एयरलाइन्सले हाल भइरहेका विमानको पूर्ण क्षमतामा सञ्चालन गरी अधिकतम लाभ लिन सक्नुपर्छ ।’

    छलफलमा उपप्रधानमन्त्री खड्काले पुनः जोड दिँदै निगमका अधिकारीलाई सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका विभिन्न जिल्ला र पायक पर्ने छिमेकी जिल्लाहरुमा समेत नेपाल एयरलाईन्सले नियमित हवाई सेवा संचालन गरी त्यहाँका जनताको वर्षौंदेखिको हवाई सेवा प्राप्त गर्ने आकाङ्क्षा पूरा गर्नु पर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend