logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:29 AM

  • मुग्लिन-पोखरा सडक: बीस किलोमिटर कालोपत्र

    मुग्लिन-पोखरा सडक: बीस किलोमिटर कालोपत्र


    पर्यटन नेपाल

    बिहिबार, १८ माघ २०८०


    तनहुँ । मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दुरीमा कालोपत्र सम्पन्न भएको हो ।

    पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमि दुरीमा कालोपत्रका लागि अन्तिम तयारी भइरहेको छ ।

    उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको इञ्जिनियर पाण्डेले बताए । पूर्वीखण्डका लागिरु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो ।

    यस खण्डको काम विसं २०७८ वैशाख २ गतेदेखि गरिएको हो । करिब ४१.४५ किलोमिटर दूरीको उक्त खण्डको काम भइरहेको आयोजना प्रमुख श्यामकुमार यादवले जानकारी दिए । उनका अनुसार विसं २०८१ वैशाखसम्म सक्नेगरी सम्झौता भएको थियो ।

    पृथ्वीराजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा एक सय साठी भौतिक संरचनाका १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ । सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका छ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ । डुम्रे बजारका अधिकांशले पहिलो किस्ताबापतको मुआब्जा लिइसकेका आयोजना कार्यालयले जनाएको छ ।

    पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारको काम भइरहेको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ ।

    उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७८ भदौदेखि काम सुरु भई विसं २०८१ भदौ १२ मा सम्पन्न गर्नेगरी सम्झौता भएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

    पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । यस सडक खण्डमा कालोपत्रका लागि पहिलो पटक परीक्षण कार्य सुरु गरिएको पौड्यालले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend