logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • पञ्चकन्यादेवी मन्दिर परिसरमा सप्ताह ज्ञान महायज्ञ हुने

    पञ्चकन्यादेवी मन्दिर परिसरमा सप्ताह ज्ञान महायज्ञ हुने


    पर्यटन नेपाल

    बुधबार, २४ माघ २०८०


    काठमाडौँ । नागार्जुन नगरपालिका वडा नं ६ उमागाउँमा पञ्चकन्या देवीको परापूर्व कालदेखि नै श्रद्धाभक्तिपूर्वक पूजा आराधना गर्ने चलन रहेको छ ।

    ऐतिहासिक धार्मिक स्थल ढुङ्गाको चट्टानमा लेप्सिएर रहेको पञ्चकन्या देवी मन्दिरमा पूजा आराधना गर्नाले देवीले साक्षात् दर्शन दिने, पारिवारिक तथा व्यक्तिगत मनोकाङ्क्षा पूर्ण हुने, मनमा शान्ति मिल्ने लगायत कुराहरुको भक्तजनहरूमा आास्था छ ।

    पञ्चकन्या देवी स्थान नजिकै सन्दुक आकारमा चारपाटे ढुङ्गा रहेको छ । जुन ढुङ्गालाई हातले बजाउँदा मादलको जस्तो ध्वनि श्रवण गर्न सकिन्छ । सोही ढुङ्गाको भित्तापट्टी ब्रह्मलिपिमा केही अक्षरहरू कुँदिएका छन् । जुन अक्षर पढ्न हालसम्म कोही पनि सफल भएका छैनन् । पुरातन समयमा गाउँलेहरुलाई कुनै घरायसी अवसरका लागि भाँडा आवश्यक हुँदा त्यहाँ गएर भक्तिपूर्वक आराधना गरेमा भाँडा उत्पन्न हुन्थ्यो । जसलाई प्रयोग गरेर पुनः शुद्ध पारी सोही स्थानमा फिर्ता गरिदिने गरेको किंवदन्ती पौराणिक कथामा सुन्न पाइन्छ ।

    यहाँबाट मध्यराती आगोको मुस्लो निस्किन्थ्यो । जुन दहचोकको इन्द्र स्थानमा गएर विलुप्त हुन्थ्यो भन्ने किंवदन्ती पनि पाइन्छ । यस्तो महिमामय पवित्र भूमिको प्रचारप्रसारका लागि स्थानीय समुदायको चाहना अनुरुप श्री पञ्चकन्या देवी सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको छ ।

    उक्त मन्दिर संरक्षण र सम्बद्र्धनका निम्ति नागार्जुन नगरपालिकाको पनि उल्लेखनीय भूमिका रहेको छ । यस पवित्र स्थलको प्रचारप्रसारका लागि माघ २६ गतेदेखि फागुन ४ गतेसम्म सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । उक्त कुराको जानकारी स्थानीय एवम् पञ्चकन्या देवीका भक्त सन्तोष गिरीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend