काठमाडौँ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा काठमाडौँमा ‘मुन्दुम’ अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शन हुने भएको छ । यहि फागुन ५ गतेदेखि १७ गतेसम्म नेपाल आर्ट काउन्सिल, बबरमहलमा चित्रकला प्रदर्शन गर्न लागिएको हो ।
चित्रकला प्रदर्शनी कार्यक्रम फागुन ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् । यो कार्यक्रममा ग्रिस, अस्ट्रेलिया, बंगलादेश, बेलारूस लगायत विभिन्न ४८ मुलुकका चित्रकारले तयार गरेका चित्रकला प्रदर्शन गरिनेछ ।
त्यस्तै खोटाङ जिल्लाका राई, तामाङ, शेर्पा, गुरूङ, मगर, नेवार तथा ब्राम्हण, क्षेत्री लगायत जातजाति विशेष सांस्कृतिक महत्वको झाँकी समेत प्रस्तुत गरिनेछ। चित्रकारलाई सम्मान गरिने कार्यक्रम पनि छ । प्रदर्शनीमा राखिएका चित्रहरू नगरपालिकाले संग्रहालय बनाएर राख्ने जनाएको छ ।
यसअघि नगरपालिकाले जिल्लाको सदरमुकाम दिक्तेलमा बंगलादेश, अस्ट्रेलिया, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका चित्रकारहरू समेत बोलाएर मुन्दुम अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला प्लेन एयर कार्यशाला २०८० सञ्चालन गरेको थियो ।
उक्त कार्यशालाबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, जीवनशैली तथा रहनसहन झल्किने गरी चित्रकला तयार गरिएको छ । यो कार्यशालाबाट तयार गरिएका करिब १७० तथा अन्य विभिन्न क्यानभासको प्रदर्शनी काठमाडौंमा गरिने भएको हो ।
नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले मुन्दुम चित्रकलाले समग्र खोटाङ जिल्लाकै कला, संस्कृतिको संरक्षण र विकासमा टेवा पुर्याउने तथा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यो कार्यक्रम विद्यार्थी तथा चित्रकलामा रूचि राख्नेहरूका लागि थप आकर्षित बनाउने उद्देश्यले आयोजना गरिएको उनको भनाइ छ ।
खोटाङ जिल्लाले प्रचुर पर्यटकीय संभावना बोकेको छ। जिल्लाका दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि यहाँका पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोँच, लेक, वेसीका साथसाथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचारका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
नगरपालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम तथा प्रदर्शनी गर्ने कार्यक्रम तय गरिएको हो । रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा रहेको नगरपालिका हो । यो पालिकामा १५ वटा वडा छन् । यो नगरपालिका सामुद्रिक सतहबाट ७०० देखि २८०० मिटरसम्मको उचाइमा छ ।
यस नगरपालिकाभित्र मझुवागढी, देविस्थान, कालिका भगवती, रुपाकोट, भुलभुले, महुरेगढी, साप्सुढाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, सांस्कृतिक, तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् । खोटाङ जिल्लामा हलेसी महादेव मन्दिर, लामिडाँडा, लगायत थुप्रै पर्यटकीय स्थल छन् ।
किराती संस्कृतिबाट चित्रकलाको नाम मुन्दुम राखिएको नगरपालिकाले जनाएको छ । मुन्दुम किरातीहरूमा प्रचलित मौखिक ज्ञान हो । यो किराती धामीहरूको मन्त्र हो । मुन्दुमका आधारमा किराती समाज सञ्चालन हुने हुँदा यसलाई सामाजिक संविधान पनि भन्न सकिने नगर प्रमुख भट्टराई बताउँछन् ।
‘मुन्दुम समग्र किरातहरूको आस्था एवम् विश्वासको धरोहर मात्र होइन, समग्र पहिचानको स्रोत र आधार पनि हो,’ उनले भने ।