logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:08 AM

  • कला निर्माण र प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ: सभामुख घिमिरे

    कला निर्माण र प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ: सभामुख घिमिरे


    पर्यटन नेपाल

    मंगलबार, ८ फाल्गुन २०८०


    काठमाडौँ । सभामुख देवराज घिमिरेले विभिन्न जिल्लामा कलाकार पुगेर सिर्जना गरिएका चित्र काठमाडौँमा ल्याई प्रदर्शन गर्दा त्यसले सम्पदाको महत्त्व बढाउने र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने बताएका छन् ।

    काठमाडौँको नेपाल कला परिषद्मा जारी ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’को आज अवलोकन गर्दै सभामुख घिमिरेले यस्ता कार्यक्रम हरेक जिल्लामा आवश्यक रहेको बताए ।

    ‘खोटाङको दिक्तेलमै पुगेर कलाकारले चित्र निर्माण गर्नु महत्त्वपूर्ण कुरा हो, त्यहाँका विशेषतालाई कलामार्फत उतारेर काठमाडौँमा प्रदर्शन गर्दा देशका सम्पदाको महत्त्व बढ्ने र यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ’, उनले भने । उनले यस्ता महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई धन्यवाद दिए ।

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि सुरु भएको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ फागुन १७ गतेसम्म जारी रहने छ ।

    प्रदर्शनीमा अवलोकनका लागि कला पारखीको बाक्लो उपस्थिति हुने गरेको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताए । प्रदर्शनीमा १४ देशका ४६ कलाकारले बनाएका एक सय ५० भन्दा बढी सृजना प्रदर्शन गरिएका छन् ।

    उनीहरूले गत असोज १७ देखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भई बनाएका सृजना यहाँ ल्याएर प्रदर्शन गरिएको हो ।

    चित्रकलाको माध्यमबाट पालिकाको संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका लागि कार्यशाला गरी काठमाडौँमा ल्याएर प्रदर्शन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए ।

    प्रदर्शनीको शनिवार पूर्व राष्ट्रपति रामवरण यादवले उद्घाटन गरेका थिए । प्रदर्शनीमा नेपालसहित भारत, अस्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका कलाकारले बनाएका चित्र समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend