logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:00 AM

  • ‘पर्यटकीय क्षेत्रको संरक्षणमा लागेका छौँ’

    ‘पर्यटकीय क्षेत्रको संरक्षणमा लागेका छौँ’


    पर्यटन नेपाल

    बुधबार, १६ फाल्गुन २०८०


    अत्तरिया (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा निरन्तर लागेको बताएका छन् ।

    प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित घोडाघोडी सिमसार क्षेत्रमा आज आयोजना गरेको रैथाने तथा प्रवासी पन्छी अवलोकन कार्यक्रममा उनले विशेष गरी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासमा सरकार लागेको बताए ।

    ‘सुदूरपश्चिममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धेरै स्थान छन् । यी सबैलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘रोजगारी सिर्जना, आयआर्जन, आर्थिक वृद्धि पनि हुने गरी समृद्धिका बाटा सँगसँगै बनाएर जानुपर्ने हुन्छ । यस्ता क्षेत्रमा सरकार लगानी गर्न तयार छ ।’

    घोडाघोडी सिमसार क्षेत्रलाई पनि पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘घोडाघोडी सिमसार क्षेत्रमा रैथाने मात्रै नभएर प्रवासी चरा पनि आउने भएकाले अन्तर्राष्ट्रियस्तरका पर्यटक भित्र्याउने वातावरण कसरी बनाउने भन्ने बिर्सिनु हुँदैन । यसलाई पर्यटनसँगै जोडेर लैजान जरुरी छ ।’

    ‘स्वदेशी तथा विदेशी चराको बासस्थान बन्दै आएको यस क्षेत्रलाई हामी पर्यटनसँग जोडेर अगाडि बढ्न चाहान्छौँ’, मुख्यमन्त्री शाहले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रले पनि मान्यता दिएको यो क्षेत्रको महत्व निकै ठूलो छ । राज्य, स्थानीय सबैले यो क्षेत्रको महत्व कति छ भन्ने कुरा बुझ्न जरुरी छ ।’ पर्यटन क्षेत्रको विकासमा लाग्ने क्रममा आयआर्जन हुने, ठूलो पर्यटनको विकास हुने आयोजनामा मात्रै अगाडि बढ्ने प्रदेश सरकारको नीति रहेको उनले प्रष्ट पारे ।

    सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले खासगरी घोडाघोडी क्षेत्र जनताका जनजीविका, पर्यटन, रोजगारीसँग जोडिएको क्षेत्र भएको बताए । उनले घोडाघोडी सिमसार क्षेत्रलाई दुई वर्ष पहिले घोषणा भएको ‘वर्ड सेञ्चुरी’ कार्यक्रमलाई मन्त्रालयले निरन्तररुपमा अगाडि बढाइ रहेको बताउँदै तीनै तहका सरकारले यस्ता क्षेत्रको समग्र विकासको योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।

    ‘विश्व रामसार सूचीमा सूचीकृत यो घोडाघोडी सिमसार क्षेत्रलाई विश्वले चिनेको छ’, उनले भने, ‘यहाँ विश्वभरका पर्यटक आउँछन् । यसको संरक्षण, प्रवद्र्धन गर्न जरुरी छ । यसका लागि प्रदेश सरकारको सधैँ सहयोग रहने छ ।’

    सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले यस क्षेत्रमा नेपालभित्रका मात्रै नभएर साइबेरिया, मङ्गोलियाबाट चरा आउने बताए । उनले घोडाघोडी ताल क्षेत्रमा २४ प्रजातिका वन्यजन्तु, ३२ प्रजातिका माछा, ३२ प्रजातिका पुतली, तीन सय प्रजातिका रैथाने तथा बसाइँसराइ गरी आउने चरा, छ सय ४७ प्रजातिका वनस्पति, २२ प्रजातिका शङ्खेकिरा, १२ प्रजातिका सीपिहरु र सात प्रजातिका घसे्रर हिँड्ने जीव रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend