काठमाडौँ । सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गिएको छ । नयाँ सरकार बनेसँगै सरकारमा जाने दल र उक्त दलबाट को मन्त्री हुने भन्ने विषयमा उनीहरूको नाम पार्टीले टुङ्गाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी हुने चार जनाको नाम टुङ्गो लगाएको छ । गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछाने, श्रम मन्त्रालयमा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले पनि सरकारमा जाने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । माओवादीले यसअघि मन्त्रिपरिषद्मा रहेका ३ जनालाई नै निरन्तरता दिएको छ । जसमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्रालयमा वर्षमान पुनलाई पठाउने निर्णय गरेको छ । त्यस्तै माओवादीबाट शक्तिबहादुर बस्नेत, हितबहादुर तामाङ र रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउनेछन् । तर उनीहरूको मन्त्रालय भने टुङ्गिएको छैन ।
त्यसै गरी नेकपा एमालेले पनि सरकारमा पठाउन ८ जनाको नाम टुङ्गाएको छ । एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पदम गिरी, रक्षा मन्त्रालयमा हरि उप्रेती, महिला/बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भगवती चौधरी र खानेपानी मन्त्रालयमा राजेन्द्र राईलाई पठाउने निर्णय गरेको हो ।
त्यस्तै एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दामोदर भण्डारी, कृषि तथा पशुपक्षी मन्त्रालयमा ज्वालाकुमारी साह र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारीलाई पठाएको छ ।