काठमाडौँ । बाग्लुङमा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ । अहिले मृतक नौ जनाकै सनाखत भएको छ ।
सोमबार पाँच बजेतिर बागलुङ निसीखोला गाँउपालिका वडा नम्बर ६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रूकुमबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको थियो । बस सडकदेखि झन्डै १५० मिटर तल खसेको थियाे ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बस दुर्घटनामा चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । तीमध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको उपचारका क्रममा निधन भएको हो ।
मृत्यु हुनेमा रूकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर का ५ विक्रम परियार रहेका छन् । उनी नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रूकुमपूर्वको सहसचिव, प्रेस सेन्टर नेपाल रूकुम पूर्वका उपाध्यक्ष थिए । उनी अन्नपूर्ण पोटमा कार्यरत थिए ।
रूकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ की २७ वर्षीया विनीता केसी, मुसिकोट वडा नम्बर २ का सवारी धनी बबिदेल नेपालीको सनाखत भएको छ ।
त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट–३ साँखकी कल्पना केसी, रोल्पाका बस चालक सुवास गौतम (मानसिंह बिक), गोर्खा जिल्लाकी गीता थापा र ललितपुर जिल्लाका सुजन महर्जनको पनि सनाखत भएको प्रहरीले जानकारी जनाएकाे छ ।
हालसम्म बसमा नाबालिकासहित ३५ जना सवार रहेको र तीमध्ये २१ जना घाइतेको धवलागिरि अस्पताल बागलुङमा उपचार जारी रहेको छ । पाँच जना गम्भीर घाइतेलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।
रात्रिबस दुर्घटनाका घाइतेमध्ये दाङका १८ वर्षीय लक्की पुन मगरको पनि उपचारको क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको छ । दुर्घटनाको कारण खुली नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।