काठमाडौँ । नेपाल पर्यटन बोर्डले २५ महिला गाइडहरूलाई ‘रेस्क्यू’ सम्बन्धी तालिम दिएको छ ।
सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै बोर्डले पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानसँगको सहकार्यमा सात दिने रेस्क्यू तालिम दिएको हो ।
तालिमका क्रममा भीर र खोँचमा फसेका, आरोहणका क्रममा क्रिभास भित्र पसेका व्यक्तिलाई सहज रूपमा उद्धार गर्न र सुरक्षित स्थानमा पुर्याउन सक्ने गरी तालिममा अभ्यास गराइएको थियो ।
त्यस्तै माउन्टेन गाइड बन्नका लागि आवश्यक पर्ने पाठ्यक्रममा आधारित रहेर पदयात्रा र हिमाल आरोहणका क्रममा दुर्घटनाबाट बचाउन र उद्धार गर्ने सीपहरू उक्त तालिमका क्रममा सिकाइएको थियो ।
नेपाल पर्यटन बोर्डले उद्धारसम्बन्धी व्यहारिक तालिम आवश्यक रहेको हुँदा यो तालिम आयोजना गरेको हो ।
बोर्डले पर्यटन जनशक्ति सुदृढ बनाउन रेस्क्यू, बारिस्ता, मौलिक बाजाहरूको प्रशिक्षण, पर्यटनमैत्री व्यवस्थापनका लागि तालिमको आयोजना गरिरहेको छ ।
नेपाल पर्वतारोहण प्रशिक्षक संघको प्राविधिक सहयोग रहेको यस तालिम काठमाडौँको जगडोल जंगलमा गराइएको थियो । तालिम यही चैत ७ गतेदेखि १३ गतेसम्म दिइएको थियो ।