logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:33 AM

  • ‘चौथो मन्जुश्री ट्रेल रेस’ मा नेपालसहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी

    ‘चौथो मन्जुश्री ट्रेल रेस’ मा नेपालसहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी


    पर्यटन नेपाल

    आइतबार, २५ चैत्र २०८०


    काठमाडौँ । खेल पर्यटन प्रवर्द्धन गर्दै चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार बिहान ८ बजे इचंगुनारायण स्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरू गरिएको हो । शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपाल सहित १६ मुलुकका ३ सय २४ धावकहरू सहभागी छन् ।

    जसमा ४० जना विदेशी धावक छन् । यस्तै २ सय ८९ जना महिला र ३५ जना पुरुष धावक छन् । विभिन्न चरणमध्ये सय माइलको दौडमा ४ महिला सहित १८ धावक सहभागी छन् ।

    यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

    सय माइलको यस रेसमा चर्चित धावकहरू प्रिया राई, मसफुमी यमाटो, मन कुमार रोका मगर, अर्जुन कुलुङ राई, निक पिलापिल, सोफी सरन्या महाकनोक लगायत अतिथी सहभागी छन् ।

    अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले पनि यस रेसमा सहभागीता जनाएकी हुन् ।

    धावकहरूले काठमाडौँ उपत्यका वरिपरिका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरी हुँदै सय माइल दूरी पार गर्नेछन् ।

    ‘यो रेस सगरमाथाकोभन्दा बढी उचाइ गेन गरिने रेस हो ।’ एसिया ट्रेल मास्टर च्याम्पियन रशिला तामाङले भनिन्, ‘सय माइलको मञ्जुश्री ट्रेल रेस पार गर्दा विभिन्न चुचुरा चड्ने र झर्ने गरेर १२ हजार ६९५ मिटरको उचाई गेन गरिन्छ ।’

    यस्तै आजै राति ८ बजे एक सय किलोमिटरको दौड झुलेबाट, भोलि शनिबार बिहान ७ बजे ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस शनिबार बिहान ८ बजे फर्पिङको डोल्लुबाट सुरू हुँदैछ । यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो। यसमा १०० जना धावक सहभागी हुँदैछन् ।

    त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सकिने अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार, यो संस्करणलाई एसिया ट्रेल मास्टर्सको छनोट खेलका रुपमा समेत मान्यता रहेको छ ।

    एसिया ट्रेल मास्टर्स हङकङमा कुआइ स्पोर्ट्स प्रमोशन लिमिटेडद्वारा व्यवस्थित एसियामा ट्रेल दौडको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिरिज हो । एसिया ट्रेल मास्टर्स पारदर्शी र सजिलो पोइन्ट प्रणालीमा आधारित वार्षिक च्याम्पियनसिप कार्यक्रम पनि हो । यसका साथै ग्रान्डमास्टर क्वेस्टमार्फत् सबै बर्गका धावकहरूलाई समान अवसर दिइन्छ ।

    गत वर्षको सम्पन्न तेस्रो संस्करणको मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना धावकले भाग लिएका थिए । आयोजकका अनुसार यस रेस अन्तर्गत प्रत्येक सिजन ‘एटिएम फाइनल’ सँगै समाप्त हुन्छ जसमा अन्तिम विजेतालाई सम्मानित गरिन्छ ।

    स्थापनाको आठौँ वर्षमा १२ देखि १५ वटा सम्म एसियाली मुलुकहरूमा ३० खेलको आयोजना हुनेछ । यसमध्येका थाइल्याण्ड, मलेसिया, जापान, भियतनाम र हङकङमा हुने रेस मुख्य रेस हुन् ।

    पौराणिक कथन अनुसार मञ्जुश्री नामक भिक्षुले काठमाडौँमा अवस्थित पोखरीमा जम्मा भएको पानीलाई निकास दिन, विभिन्न डाँडा घुमेर हेरेको थिए। यसै विश्वासलाई आधार मानेर यस रेसको परिकल्पना तथा नामाङ्कन गरिएको हो ।

    सेतो र पहेलो रङले चिह्न लगाइएको यस ट्रेलमा अहिले हाइकिङ तथा साइक्लिङ समेत हुने गरेको छ ।

    धावकहरू भने जंगल, खोला, खेत र केही गाउँहरू हुँदै दौडन्छन् । लगभग ७० प्रतिशत दौड वन(जंगल र गोरेटो बाटोमा हुने ट्रेलमाण्डुका सह सँस्थापक आशिष मिश्रले बताए ।

    अध्यक्ष थापाका अनुसार रेसलाई थप समावेशी बनाउन शनिबार २ किलोमिटरको विशेष रेस समेत आयोजना हुँदै छ । जसमा भिन्न रूपले सबल बाल(बालिकाहरूको रेस पनि आयोजना हुनेछ । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सो रेसको आयोजना हुन लागेको हो । यसमा २० खेलाडी सहभागी हुँदैछन् ।

    सय माइल यस लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठूलो संख्यामा सहभागिता रहने दौड पनि हो ।

    यसमा धावकहरूलाई सहज बनाउनको लागि जम्मा १९ वटा चेक प्वाईन्ट उपलब्ध गराइएको हुन्छ जहाँ उनीहरूलाई आवश्यक पर्ने खानेकुरा, पानी तथा आधारभूत औषधिको पनि व्यवस्था गरिएको हुन्छ ।

    त्यस्तै तीन स्थानमा केही समय आराम गर्नको निम्ति बासस्थानको पनि व्यवस्था गरिएको छ ।

    इमर्जेन्सी अवस्थालाई मध्यनजर राखी सबै चेक प्वाईन्टहरूमा आधारभूत तालिम प्राप्त मेडिकल टिम राखिनुको साथै एम्बुलेन्स तथा अस्पतालहरूसँग पनि समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए । यसका लागि ट्रेलमाण्डुसँग सहकार्य गरिएको उनले बताए ।

    विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् १०१६ मा यो रूट छिचोले ।

    जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्य लगायतले पटक पटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए ।

    पछिल्लो समयमा ट्रेलमाण्डु र मञ्जुश्री ट्रेल रेसले संस्थागत रुपमै यो ट्रेललाई अझ परिस्कृत गर्दै मार्किङ तथा जि।पि।यस नक्साङ्कन गरिएको अध्यक्ष थापाले जानकारी दिए । विभिन्न चरणमा विभिन्न व्यक्तित्वको संलग्नतामा १७० किलोमिटर दूरीको यो रूट पूर्ण रूपमा निर्धारण गर्न करिब ३ वर्ष लागेको थियो ।

    फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्यांकन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापा बताउँछन् ।

    उनले भने, ‘आइटिआरएको मापदण्ड अनुसारको ‘मञ्जुश्री ट्रेल रेस’ पूरा गर्ने सहभागीले आइटिआरएबाट ६ अंक प्राप्त गर्छन् जुन आइटिआरएमा सम्बन्धित न्यूनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ।’

    अध्यक्ष थापाका अनुसार, १ सय ७० किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

    सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

    ५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रूपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

    साथै यस संस्करणमा थपिएको नयाँ विशेष आयाम तथा खेलाडीहरूको लागि प्रोत्साहन मञ्जुश्री ट्रेल रेसका सय माइल, सय किमी र ५० किमिका खेलको पाँचौं स्थानभित्र आउने खेलाडीले स्वतस् एसिया ट्रेल मास्टर्समा क्वालिफाइ हुनेछन् । यसमा केही खेलाडी सहभागी हुने राम्रो सम्भावना र अवसर पनि रहेको उनी बताउँछन् ।

    राष्ट्रिय खेलकुद परिषद अन्तर्गत हालै गठन भएको नेपाल एडभेञ्चर रनिङ महासंघबाट पनि यो रेसलाई विशेष रूपमा हेरिएको तथा सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend