logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:57 AM

  • पर्यटन बोर्ड (एसटीएलआरपी) लाई प्यासिफिक एसिया ट्रावल एसोसिएसन गोल्ड अवार्ड-२०२३ प्राप्त

    पर्यटन बोर्ड (एसटीएलआरपी) लाई प्यासिफिक एसिया ट्रावल एसोसिएसन गोल्ड अवार्ड-२०२३ प्राप्त


    पर्यटन नेपाल

    शनिबार, २० असोज २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एसिया ट्रावल एसोसिएसन (पाटा) गोल्ड अवार्ड -२०२३ प्राप्त गरेको छ ।

    पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा गरेको पहलकदमी दिगोपन तथा सामाजिक उत्तरदायित्वको लागि (Woman Empowerment initiative)प्यासिफिक एसिया ट्रावल एसोसिएसन (पाटा)ले नेपाल पर्यटन बोर्ड -एसटीएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ प्रदान गरेको हो ।

    नयाँ दिल्लीमा आयोजित पाटा टार्वल मार्ट २०२३ को कार्यक्रममा अवसरमा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर सिमोनले उक्त अर्बाड प्रदान गरेका थिए । सन् १९९५ बाट सुरु भएको यो अवार्ड यसपालि विभिन्न २३ वटा संघ संस्थाहरूलाई विभिन्न विधामा प्रदान गरिएको छ ।

    एसटीएलआरपी परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेसन रेसिलेन्सि विधा अन्तर्गत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै २०२३ मा पनि पाटाबाट स्पेसल पाटा अवार्ड समेत प्राप्त गरेको थियो । पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ)तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनञ्जय रेग्मीले बताए ।

    डा. रेग्मीले भने, ‘हामीले कोभिडको असरसँगै पर्यटकहरूको उद्धारदेखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरू निरन्तर गर्दै आइरहेका छौँ । हामीले गरेका कामहरूले मूल्याङ्कन गर्दै निरन्तर विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरेका छौँ । यसले हामीलाई थप कार्य गर्न प्रोत्साहन मिलेको छ ।’

    यस्तै पर्यटकको खोज तथा उद्धारमा खोजमा गरेको योगदानको कदर स्वरूप पनि बोर्डले विभिन्न राजदूतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मान प्राप्त गरेको थियो । बोर्ड तथा एसटीएलआरपीले कोभिड–१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

    यस अन्तर्गत महिलाहरूका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि ट्रेकिङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसँग सम्बन्धित विभिन्न विधाका गाइड म्यानुएलहरु तयार गर्दै आइरहेको छ ।

    परियोजनाले अहिलेसम्म करिब एक हजार महिलाहरूलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend