logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • कालीकोटको पचाल झरनालाई नेपालकै अग्लो झरनाको मान्यता दिन आग्रह

    कालीकोटको पचाल झरनालाई नेपालकै अग्लो झरनाको मान्यता दिन आग्रह


    पर्यटन नेपाल

    मंगलबार, ११ बैशाख २०८१


    मान्म (कालीकोट)। कालीकोटको पचाल झरना गाउँपालिका-३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् ।

    पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ ।

    स्थानीय शिवराज सेजुवाल पटकपटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिए पनि आधिकारिक अभिलेख राख्ने निकायले ध्यान नदिँदा पर्यटन प्रवर्द्धनका कामसमेत हुन नसकेको बताउँछन् ।

    ‘यो झरना नेपालकै लामो हो भन्ने देखिएको छ तर त्यसको आधिकारिक अभिलेख राखिएको छैन । यदि सो अभिलेख राखी झरनाको संरक्षण, विकास तथा पर्यटन प्रवर्द्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्नसक्छ र यसतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ’, उनले भने ।

    पचाल झरना गाउँपालिकाका प्राविधिक इञ्जिनियर कुलप्रसाद न्यौपानेले पनि यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना (३६५ मिटर) भन्दा अग्लो रहेको बताए । यो झरना ४१५ मिटर अग्लो रहेको उनको भनाइ छ ।

    ‘गाउँपालिकाले गरेको सर्वेक्षणमा पचालझरना खसेको ठाउँदेखि तल ठोक्किएको ठाउँसम्म तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँसमेतको दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको पाइयो’, न्यौपानेले भने, ‘पर्यटन बोर्डले यसलाई मान्यता दिएमा सबैको ध्यानाकर्षण हुन्थ्यो । जसले पर्यटन प्रवर्द्धनका काम गर्न पनि सहज हुने हाम्रो बुझाइ छ ।’

    गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले गाउँपालिकाले झरनासम्म पुग्नका लागि पैदलमार्ग, होमस्टे र सूचना केन्द्र स्थापना गरे पनि अन्य निकायबाट सहयोग नपाइएको गुनासो गरे ।

    ‘नेपाल पर्यटन बोर्डले अग्लो झरना भनेर अभिलेख नराखिदिँदा प्रचारप्रसार गर्न सकिएको छैन । त्यसैकारण कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने यो झरना ओझेलमा परेको छ’, अध्यक्ष शाहीले भने । यो झरना सन् २०२० मा सरकारको सय गन्तव्यभित्र परेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend