logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:27 AM

  • कामीरिताले तोडे आफ्नै कीर्तिमान, ३० औं पटक सगरमाथाको सफल आरोहण

    कामीरिताले तोडे आफ्नै कीर्तिमान, ३० औं पटक सगरमाथाको सफल आरोहण


    पर्यटन नेपाल

    बुधबार, ९ जेष्ठ २०८१


    काठमाडौँ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।

    सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी बुधबार बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।

    ‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औं पटक पाइला टेकेर नयाँ कीतिर्मान कायम गर्नुभएको छ,’ सगरमाथा आधारशिविरबाट गौतमले भने ।

    वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।

    फिल्ड कार्यालय प्रमुख गौतमका अनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी ४६० भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

    सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता पर्वतारोही पथप्रदर्शक हुन् ।

    सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

    सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुन् ।

    अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो ।

    आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend