logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:14 AM

  • गणतन्त्र प्राप्तिपछि मुलुक विकास र समृद्धिको बाटोमा : पर्यटनमन्त्री तामाङ

    गणतन्त्र प्राप्तिपछि मुलुक विकास र समृद्धिको बाटोमा : पर्यटनमन्त्री तामाङ


    पर्यटन नेपाल

    मंगलबार, २२ जेष्ठ २०८१


    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गणतन्त्र प्राप्तिपछि मुलुक आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् ।

    गणतन्त्र दिवस २०८१ का अवसर पारेर राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपश्चात् उहाँले गणतन्त्रपछिको उपलब्धिसँग सम्बन्धित तस्बिर प्रदर्शनीले वर्तमान अवस्थाको तस्बिर दिने काम भएको उल्लेख गरे ।

    ‘राससले जुन विषयवस्तुलाई समेटेर फोटो प्रदर्शनी गरेको छ, विषयवस्तु छनोट गर्ने क्रममा यहाँहरुले धेरै मेहनत गर्नुभएको छ’, पर्यटनमन्त्री तामाङले भने, ‘एक प्रकारको निराशावादी र ध्वङ्सात्मक चेतका विरुद्ध एउटा रचनात्मक र सिर्जनात्मक सोच र चेतना दिने प्रयत्न प्रदर्शनीले दिएको छ, यी सबै कुरा हेर्दा यो तस्बिर प्रदर्शनीले वर्तमान अवस्थाको तस्बिर दिने काम भएको छ, जुन ज्यादै सराहनीय र प्रशंसायोग्य छ ।’

    पर्यटनमन्त्री तामाङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि व्यवस्था परिवर्तन र नयाँ संविधानसहित शासकीय संरचनाको विकास भएको अवस्थामा ‘यहाँ केही भएन, केही पनि गर्दैनन्’ भन्नेजस्ता गलत प्रचारलाई चिर्दै विकासको यथार्थ तस्बिर पनि प्रदर्शनीले दिएको उल्लेख गरे ।

    ‘यथार्थमा भौतिक क्षेत्रको विकासदेखि मानवीय क्षेत्रको विकासको तस्बिर झल्किने गरी राससले फोटो प्रदर्शनी गरेको छ, त्यसकारण अरुले जे भनिरहेका छन् त्यो गलत हो, समाज विकासका क्रम छोटो अवधिमै पूरा भइहाल्ने कुरा होइन र पनि अहिले जति भएका छन् ती पनि कम गतिमा छैनन् भन्ने पनि हो, भौतिक पूर्वाधारमा यति धेरै विकास भएको छ’, मन्त्री तामाङले भने ।

    पर्यटनमन्त्री तामाङले प्रदर्शित तस्बिरले वर्तमानप्रतिको विश्वास र भविष्यप्रतिको आशावादिता जगाएको बताए । उनले भने, ‘कर्णाली जस्तो स्थानमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएको छ, त्यहाँबाट हजारौँ जनशक्ति उत्पादन भइरहेको छ, कर्णालीको गेटा कलेजको कामले गति लिएको छ, मुलुक सुरुङ मार्गमा प्रवेश गरिसकेको छ, विकट ठाउँमा सम्पर्क सञ्जाल विस्तार भएको छ, समग्रमा भन्नुपर्दा आधुनिक सूचना प्रविधिको दृष्टिकोणबाट हेर्दा विज्ञान र प्रविधिको विकासको प्रभाव नेपालमा कति धेरै परेको छ भन्ने कुरा तस्बिरले पनि स्पष्ट पारेको छ ।’

    पर्यटनमन्त्री तामाङले मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति बजेट र नीति तथा कार्यक्रममा समेटिएका महत्वपूर्ण विषयलाई योजनाबद्ध कार्यान्वयन गर्नेतर्फ मन्त्रालय लागिपर्ने विश्वास व्यक्त गरे ।

    पर्यटनमन्त्री तामाङलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई, रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारी, प्रशासन प्रमुख शीतलप्रसाद महतो लगायतले प्रदर्शनीमा राखिएका तस्बिरका बारेमा जानकारी गराएका थिए ।

    यही जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्र समेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनाका तस्बिर समावेश छन् ।

    विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएका ऐतिहासिक धरोहरकोे पुनः निर्माण पछिका संरचना, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा सङ्कलन गरी राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ तस्बिर प्रदर्शनीमा समेटिएका छन् ।

    राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

    प्रदर्शनीमा ऊर्जा, विमानस्थल, पर्यटन, बाटोघाटो, सडक, पुल, स्वास्थ्य शिक्षाका संरचना, सम्पदा पुनःनिर्माण, तराईका हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ–मधेस दु्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, टेलिफोनका फोरजी टावर, एकीकृत बस्ती, राष्ट्रिय गौरव, प्रदेश गौरवका आयोजनालगायत तस्बिर समावेश छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend