logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:31 AM

  • काठमाडौँदेखि हिडेर ५७औं दिनमा सगरमाथाको चुचुरोको आरोहण

    काठमाडौँदेखि हिडेर ५७औं दिनमा सगरमाथाको चुचुरोको आरोहण


    पर्यटन नेपाल

    बुधबार, २३ जेष्ठ २०८१


    काठमाडौँ । ​आरोही राजेश लामाले काठमाडौँदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन् । उनले यात्रा शुरू गरेको ५७औं दिनमा सगरमाथा आरोहण गरेका हुन् ।

    गत अप्रिल १ तारिखका दिन काठमाडौँदेखि पैदलयात्रा शुरू गरेका उनले ४ सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् ।

    आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए ।

    इच्छा शक्ति, धैर्यता र अठोट भए जीवनमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौँदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उनले बताए ।

    आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ । सानेपाबाट सगरमाथा यात्रा शुरू गरेका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए ।

    मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरेका थिए । पर्यटन क्षेत्रमा दशकभन्दा बढी अनुभव भएका लामा पर्वतारोहण व्यावसायिक पथ प्रदर्शकसमेत हुन् ।

    ‘द नर्थफेस’ नेपालले लामालाई सगरमाथा आरोहणमा आवश्यक सहयोग गरेको थियो ।

    कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले लामाको सगरमाथा यात्रा नेपालको पर्वतीय पर्यटनका लागि नयाँ आयाम भएको बताएका थिए ।

    अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक दावा याङजुम शेर्पाले लामाको साहसिक कार्य पर्वतारोहणका लागि प्रेरणा भएको धारणा राखे । ‘द नर्थफेस’ नेपालकी प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले आरोहीको हौसलामा साथ सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend