काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपाल र भारतबीचको सम्बन्ध राजकिय मात्रै नभएर जनस्तरसम्म रहेको बताए ।
राजनीतिक, सांस्कृतिक, आर्थिक र धार्मिक लगायतका बहुआयामिक क्षेत्रमा दुई देशबीचको सम्बन्ध जोडिएको उनको भनाई छ ।
आज मल्ल होटलमा ईन्डो नेपाल फ्रेन्डसिप एण्ड इकोनोमिक कोअपरेसन एण्ड प्रेजेन्टेसन अफ अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेपनि समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्ने गेकोले उक्त समस्या कुटनीतिक सम्बन्धको माध्यमबाट हल गर्दै जानु पर्ने बताए ।
उनले भने, ‘नेपाल भारतबीच धार्मिक, आर्थिक, सांस्कृतिकलगायतका धेरै क्षेत्रमा सयौँ वर्षदेखिको सम्बन्ध हो, धेरै नजिक भएका नाताले पनि कहिलेकाहीँ कुनै विषयमा असमझदारी पनि बढ्छ, कुनै विषयमा विवाद पनि आउन सक्छ, त्यसैले यी सबै विषयलाई दुवै तर्फबाट कुटनीतिक रुपमा निकास निकाल्नुपर्छ, समस्या देखियो भने वार्ताबाटै समाधान पहिल्याउनुपर्छ ।’
उनले व्यापारीक हिशाबले पनि भारत नेपालको ठूलो ब्यापारीक साझेदार रहेको र भारतसँगकै व्यापार घाटा पनि बढी रहेकाले दुबै देशले यसलाई न्युनीकरण गर्ने तर्फ सोच्नु पर्ने बताए ।
पछिल्लो समय बिद्युत निर्यात गरेर घाटामा केही सुधार गर्न खोजिए पनि भारतबाट औद्योगिक सहित विभिन्न बस्तु तथा सेवाको आयात बढी रहेकाले ब्यापार घाटा कम गर्ने विकल्प सोच्नु पर्ने आवस्यकता रहेकोमा मन्त्री तामाङको जोड थियो ।
उनले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योग सहयोगी हुने बताए । दुई देशबीचको व्यापार घाटा कम गर्ने भरपर्दो आधार पर्यटन क्षेत्र हुन सक्ने भन्दै मन्त्री तामाङले नेपालको राजधानीमा रहेको पशुपति पूूवीय दर्शनको महत्वपूर्ण सम्पदा रहेको र यसमा भारतबाट सबै भन्दा बढी पर्यटक आउने गरेको स्मरण गर्दै त्यसलाई पशुपति गुरुयोजना अनुसार व्यवस्थित रुपले व्यवस्थापन गर्ने सोच रहेको बताए ।
पशुपतिमा भारतबाट आउने धार्मिक पर्यटकलाई व्यावस्थापन गर्न र अझै बृद्धि गर्नका लागि नै पशुपति गुरुयोजना बनाइएको उनको भनाई थियो ।
यसै गरी आगामी बर्षको बजेटमा जनकपुरलाई पनि महत्व दिईएको र यो पनि भारतीय पर्यटकका लागि ध्यान दिएर व्यवस्थापन गर्न लागिएको, भगवान गौतमबुद्धको जन्मथलो लुम्विनीमा पनि सरकारले उत्तिकै ध्यान दिएको भन्दै ठूलो भुगोल र जनसंख्या भएको छिमेकी मुलुक भारतीय पर्यटक ल्याउन सकिएमा निकै ठुलो उपलव्धि हुने उनले बताए ।
नेपालको भारतीय पर्यटकको संख्या बृद्धि गर्ने नेपालको योजनालाई भारतीय सरकारले सहज ढंगबाट लिएर सहयोग गर्नु पर्ने आफूले महसुस गरेको भन्दै मन्त्री तामाङले अहिले ईको हिल स्टेसनको नाममा भारतीय सीमा क्षेत्र नजिक भारतको युपि, बिहार पश्चिम बंगाल लगायतका राज्यका नागरिकलाई ध्यान दिएर शिखरमा चढेर आराम लिन पाउने गरी यो स्टेसन महाभारत पहाडको दक्षिणी श्रृखलामा निर्माण गर्ने योजना बनाईएको बताए ।
यस्तो ईको हिल स्टेसनमा सरकार निजी क्षेत्र सबै पक्षले मिलेर लगानी गर्ने वातावरण तयार पारिदै गएको भन्दै यसमा सबै एकजुट हुनु पर्नेमा उनले जोड दिए ।