काठमाडौँ । नेपाल पर्यटन बोर्डले सियोलस्थित नेपाली राजदूतावास र कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा दक्षिण कोरियाको ग्वाङ्जुमा नेपाल पर्यटन प्रवर्द्वन कार्यक्रम सम्पन्न गरेको छ ।
असार ११ गते (२५ जुन २०२४ ) मा दक्षिण कोरियाको ग्वाङ्जुमा बीटुबी बैठकसहित आयोजना गरेको कार्यक्रममा बोल्दै सियोलस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर पुष्पराज भट्टराईले नेपाली र कोरियाली टुर अपरेटरहरूको समूहले सामूहिक रूपमा आयोजना गरेका कार्यक्रमले दुवै देशबीचको पर्यटन प्रवद्वन हुने धारणा राखेका थिए ।
नेपाल र कोरिया गणतन्त्र कोरियाबीचको नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले नेपालको पर्यटन प्रवद्वनका लागि कोरियाली र नेपाली अपरेटर दुवै मिलेर काम गर्न आग्रह गर्नु भयो ।
उनले नेपाल र कोरियाबीचको द्विपक्षीय पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारको तर्फबाट पूणर् सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै नेपाल र कारिया बीच छिट्टै नियमित उडान हुनेमा आफु आशाबादी रहेको जानकारी दिए ।
त्यसैगरी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, वरिष्ठ निर्देशक हिक्मतसिंह ऐयरले नेपाल दूतावास र कोटानसँगको साझेदारीमा बोर्डले लामो समयपछि नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यस प्रकारका कार्यक्रमले दुई देशलाई पर्यटन प्रवद्वन सम्भावनालाई उजागर गर्न फराकिलो मञ्च प्रदान गर्ने बताए । सो अवसरमा उहाँले ‘डेस्टिनेसन नेपाल’ र ‘नेपालको पर्यटन क्षेत्रमा लगानीका अवसर’ विषयका दुईवटा प्रस्तुति दिएकका थिए ।
ग्वाङ्जुस्थित नेपालका अवैतनिक वाणिज्य दूतावास श्री जेओन, सुङ ह्युनले कोरियामा यस्ता कार्यक्रम आयोजना गरेकोमा नेपाली प्रतिनिधिमण्डलप्रति हार्दिक आभार प्रकट गर्दै नेपालको अनुपम संस्कृति, एड्रेनालाईन रश साहसिक र प्राचीन प्राकृतिक सौन्दर्यप्रतिको आफ्नो लगाव रहेका बताए ।
उक्त कार्यक्रममा कोटानले लक्की ड्र मार्फत आमन्त्रित तीन कोरियाली टुर अपरेटरहरूलाई नेपाल भ्रमणका लागि टुर प्याकेजहरू समेत पुरस्कारका रुपमा प्रदान गरेको थियो।
समापनका अवसरमा बोल्दै कोटानका अध्यक्ष अमरबहादुर शाहीले सबै कोरियाली टुर अपरेटरहरुलाई नेपालको सौन्दर्य र यहाँका जनताको न्यानो आतिथ्य अनुभव गर्न नेपाल भ्रमण गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली ट्राभल एण्ड टुर कम्पनीहरु लगायत ६५ भन्दा बढीको सहभागिता रहेको थियो । यस कार्यक्रम अघि, नेपाल सेल्स मिसन मे २०२३ मा सियोल र बुसानमा आयोजना गरिएको थियो ।आगामी २७ जुन २०२४ मा यस्तै बि २ बि कार्यक्रम सिओलमा आयोजना समेत हुनेछ |