काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (आज) दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ ।
आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
शुक्रबार (आज) देखि मनसुनको न्यून चापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएको छ ।
मनसुनी वायुको प्रभावले शुक्रबार शुक्रबारदेखि आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ ।
अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।