logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:49 AM

  • बन्दीपुरका हरेक गाउँ: पर्यटकीय ठाउँ

    बन्दीपुरका हरेक गाउँ: पर्यटकीय ठाउँ


    पर्यटन नेपाल

    मंगलबार, १९ असार २०८१


    काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँहरूलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ ।

    बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँहरूलाई पूर्वाधार विकास गरी पर्यटकीय ठाउँका रूपमा विकास गर्न लागिएको हो ।

    बन्दीपुर-३ रामकोट, वडा नं ५ को कोरिखा, झारगाउँ, वडा नं ६ को धरमपानी, हुस्लाङ, कमलबारी, लखनबारी, ग्याजाटारलगायत गाउँलाई पर्यटकीय ठाउँ बनाउने अभियान सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। पालिकाले त्यस्ता ठाउँमा रहेको घरबास (होमस्टे) को संरक्षण, प्रवर्द्धन, घरबासमा पूर्वाधार निर्माणमा सहयोग गर्ने उनले बताए ।

    गाउँपालिकाले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ बन्दीपुर’ सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाएको छ । यसका लागि काठमाडौं, पोखरा, विराटनगरजस्ता ठूला सहरमा उक्त कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।

    पर्यटनलाई आम्दानीको मुख्य स्रोत ठान्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने उनले बताए ।

    ‘विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रूपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन विशेष पौराणिकता झल्कने कार्यक्रम सञ्चालन गर्ने सोचमा छौं,’ उनले भने ।

    गण्डकी प्रदेशको दोस्रो पर्यटकीय गन्तव्य एवं पहाडकी रानीको नामले परिचित बन्दीपुरका छवटै वडाका पर्यटकीयस्थलको दिगो विकासका लागि बन्दीपुर गाउँपालिकामा पर्यटकीय केन्द्र बनाइने अध्यक्ष थापाले उल्लेख गरे ।

    पौराणिक सहरका रूपमा रहेको तनहुँको बन्दीपुर गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । बन्दीपुरमा आउने पर्यटकको लागत राख्न र होमस्टे होटलहरूको एकीकृत जानकारी गराउन पर्यटन सूचना केन्द्रको स्थापना गरिने, होमस्टेको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गरिने, सिद्धगुफा, पातलदारी गुफा हुस्लाङकोट दरबार, मुकुन्देश्वरी पदमार्ग, चन्द्रकोटगढी, थानीमाई, भुकभुके पर्यटकीय क्षेत्रलगायतका पर्यटकीयस्थलको संरक्षण गर्ने नीति अगाडि सारिएको छ ।

    आवासीय सुविधासहित एसइईको तयारी कक्षा

    तनहुँको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धिका लागि आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाअन्तर्गतका विद्यालयबाट एसइईमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेडवृद्धिमा सहभागी हुन पालिकाले आवासीय सुविधासहितको तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    आजदेखि रामशाह मावि र मित्रता माविमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसका लागि शिक्षकहरूले सकेको सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    गाउँपालिकाअन्तर्गतका दश विद्यालयमध्ये दुई विद्यालयको नतिजा शून्य छ । छिम्केश्वरी मावि र कन्यादेवी माविका सबै विद्यार्थी एसइईमा अनुत्तीर्ण भएका छन्। छिम्केश्वरीका १४ र कन्यादेवीका १९ विद्यार्थी परीक्षामा अनुत्तीर्ण छन् ।  कुल चार सय ३३ विद्यार्थीमध्ये ३.६–४ जिपिए ल्याउने १६, ३.२–३.६ जिपिए ल्याउने ४५, २.८–३.२ जिपिए ल्याउने ५२, २.४–२.८ जिपिए ल्याउने ३६ र २.०–२.४ जिपिए ल्याउने दुई विद्यार्थी छन् ।

    अध्यक्ष चुमानले एसइईको नतिजाले जनप्रतिनिधि, विद्यालय प्रशासन र विषय शिक्षक फेल भएको बताए । ‘यो वर्षको माध्यमिक शिक्षा परीक्षामा आँबुखैरेनी गाउँपालिका नराम्रोसँग फेल भएको छ । यो नतिजाको अनुत्तीर्णमा बच्चाहरूको नाम देखिए पनि खास फेलचाहिँ हामी सरकारमा बसेर जिम्मेवारी लिने ठूला मान्छे पल्टिएकाहरू, केही हदसम्म विद्यालय प्रशासन र विषय शिक्षक भएको जस्तो लाग्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend