काठमाडौँ । देशभर मनसुनको सक्रियतामा कमी हुने भएकाे छ ।
नेपाल नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सर्दै जाँदा मनसुन कमी हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएमाे हाे ।
आज अपराह्नबाट सुदूरपश्चिम प्रदेशमा पनि वर्षा रोकिने छ ।सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ ।
आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज नै मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कञ्चनपुरको दोधारा क्षेत्रमा त हालसम्मकै ‘रेकर्ड’को वर्षा भएको महाशाखाले जनाएकाे छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा ६२२ मिलिमिटर वर्षा भएको थियो । यसअघि सन् २०१७ मा हेटाैंडामा ५१६ मिलिमिटर वर्षा भएको थियो ।
महाशाखाले आइतबार नै बुलेटिन जारी गरेर न्यून चापिय रेखा सोमबादेखि क्रमिकरूपमा दक्षिण तिर सर्दै जाने जनाएकाे थियाे ।