काठमाडौँ । जुलाईमा ६४ हजार ५९९ पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा सन् २०२४ कै सबैभन्दा कम पर्यटक भित्रिएका हुन् ।
२०२३ को तुलनामा भने यो महिना पर्यटक आगमन केही बढेको देखिन्छ । अघिल्लो वर्ष जुलाईमा ५७ हजार ७ सय २६ पर्यटक आएका थिए ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो सात महिनामा कुल पर्यटक आगमन भने साढे ६ लाख हाराहारी भएको छ ।
जुलाई २०२४ मा भारतबाट सर्वाधिक २१ हजार ४ सय ९१ पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा केही बढी हो ।
त्यस्तै दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट ७ हजार ८४६ पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा चिनियाँ पर्यटक आगमन रहेको छ । चीनबाट ६ हजार ८१९ पर्यटक आएका छन् ।
यस वर्ष मनसुनमा बंगलादेशबाट आउने पर्यटक संख्यासमेत वृद्धि भएको छ ।
त्यस्तै पर्यटन बोर्डका अनुसार बेलायबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक हजार ९०१ र साउथ कोरियाबाट एक हजार ५३७ पर्यटक भित्रिएका छन् ।
यस वर्ष जुलाईसम्म ६ लाख ४७ हजार ६ सय १५ पर्यटक नेपाल आएका छन् ।