काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्रको भ्रमणमा निस्किएका छन् ।
प्रधानमन्त्री मोदी हेलिकोप्टर चढेर आज (बिहीबार) बिहान कालापानी क्षेत्रमा भ्रमणका लागि आएका हुन् ।
उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भू–भाग पनि समेटिएको छ । तर भारतले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।
उनले आदि कैलाश र पार्वती कुण्डको दर्शन गर्ने कार्यक्रम रहेको छ । साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि तय भएको छ ।
भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी लगायत पनि कालापानी क्षेत्रको भ्रमणमा छन् ।
मोदीले सामाजिक सञ्जाल एक्समा पिथौरागढमा परियोजनाहरूको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग संवाद गर्ने उल्लेख गरेका छन् । आफ्नो यो भ्रमणको आध्यात्मिक महत्त्व भएको पनि उनले जनाएका छन् ।