logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   03:39 AM

  • नेपालको स्विटजरल्याण्ड जिरी `क्यानभासमा´

    नेपालको स्विटजरल्याण्ड जिरी `क्यानभासमा´


    पर्यटन नेपाल

    शनिबार, २९ भाद्र २०८१


    काठमाडौँ । नेपालको एतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई उजागर गर्ने उदेश्यले विविध कार्यक्रम आयोजना गर्दै आईएको छ ।

    यसै सन्दर्भमा गत वर्ष दोश्रो जिरी महोत्सव आयोजना गरिएको थियो । सो महोत्सवमा नेपालका ख्यातिप्राप्त ६ जना कलाकारहरु जिरी पुगेर महोत्सवमा स्थलगत कला कार्यशालामा सहभागी भएका थिए ।

    कलाकारहरुले ३ दिनको जिरी बसाईका क्रममा देखेका भोगेका र अनुभव गरेका कुरालाई काठमाडौँमासमेत आएर कलाकृति सृजना गरेका थिए ।

    तिनै कलाकृतिहरुको संगालो हो,‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी ।

    विशेषतः पर्यटकहरुमाझ नेपालको स्विटजरल्याण्ड भनेर चिनिएको जिरीको प्राकृतिक सौन्दर्य, यहाँको जनजीवन, संस्कृति, वास्तुकला र सम्पदाहरुलाई कलाकारहरुले क्यानभासमा उतारेका छन् ।

    यो प्रदर्शनीमा जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । जिरीको भेषभुषा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र संस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा फेला पार्ने विश्वास छ । जिरीको पहिचान बनेको प्राकृतिक सौन्दर्य पनि कलाकृतिमा पाइन्छ ।

    कुनै बेला सगरमाथाको प्रवेशद्वारका रुपमा परिचित जिरी यतिबेला पर्यटक कुरेर बसेको छ । आफ्नो प्राकृतिक र भौगोलिक सौन्दर्य देखाउन आतुर छ । यहाँको सांस्कृतिक विविधता र जिरेल सहितको मिश्रित जनजीवनले स्वदेशी र विदेशी पाहुनालाई स्वागत गर्न आतुर छ ।

    यहाँका ताल तलैया, झरना, मठ मन्दिर, गुम्बा, प्राकृतिक उद्यानहरु, हिमाली भुभागका हिँउ, याक आदिले पर्खिरहेका छन् ।

    अमुल्य जडिबुटीहरुले लहराउदै बोलाईरहेका छन् । जिरीको वास्तुकला र मौलिक संस्कृतिहरुले आमजनलाई खुला आह्वान गरिरहेका छन् । यसै कारण जिरीको सांस्कृतिक र भौगोलिक विविधतासँग तपाईंहरुलाई परिचित गराउने यहाँको सौन्दर्यलाई उजागर गर्ने उदेश्य सहित यो प्रदर्शनीको आयोजना गरिएको हो ।

    प्रदर्शनीमा ६ जना कलाकारहरु केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पाली सहभागी छन् ।

    कलाकारले एक्रेलिक र जलरङ(वाटर कलर)को प्रयोग गरि चित्र सृजना गरेका छन् । कार्यशाला र प्रदर्शनीमा कलाकारहरुको संयोजन केशवराज खनालले गरेका हुन् ।

    प्रदर्शनी २०८१ साल भदौ २८ गते देखि भदौ ३० गते सम्म उमोजा क्याफे, एन.बि सेन्टर नयाँ बानेश्वरमा संचालनमा रहने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend