काठमाडौँ । शरद ऋतुमा हिमाल चढ्न ८८१ जना आरोहीले अनुमति पाएका छन् ।
पर्यटन विभागका अनुसार शुक्रवारसम्म कुल ४२ हिमालका लागि आरोहण अनुमति दिइएको हो । जसमा ११४ टोलीका ८८१ जना आरोहीले अनुमति पाएका हुन् ।
जसमा ७०२ जना पुरुष र १७९ जना महिला आरोही रहेका छन् । यो सिजनमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोहण अनुमति जारी हुने गर्छ ।
सबैभन्दा बढी मनास्लु हिमालमा २६ टोलीका ३०१ जना यात्रुले आरोहण अनुमति लिएका छन् । जसमा ६५ जना महिला छन् । अमादब्लम हिमालमा १८ टोलीका १९८ जनाले अनुमति लिएका छन् ।
हिमलुङ हिमालमा १४ टोलीका १११ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । पुठा हिउँचुलीमा ५ टोलीका ३३ जनालाई अनुमति जारी भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस सिजनमा विभागले रोयल्टीबाट ५ करोड ७७ लाख ३७ हजार ९९१ रुपैयाँ सङ्कलन गरेको समेत जानकारी गराएको छ ।