logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • अन्नपूर्ण आधार शिविरमा चुनौतीपूर्ण बनिरहेको प्रदूषण, यत्रतत्र फोहोर, शौचालयसम्म छैन

    अन्नपूर्ण आधार शिविरमा चुनौतीपूर्ण बनिरहेको प्रदूषण, यत्रतत्र फोहोर, शौचालयसम्म छैन


    पर्यटन नेपाल

    शुक्रबार, २३ कार्तिक २०८१


    म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो ।

    वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित संख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिना बाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन् ।

    आन्तरिक पर्यटकको रोजाइमा परेको अन्नपूर्ण आधार शिविर र त्यहाँ जाने ‘मौरिस हर्जोग’ पदमार्गमा पाहुनाको बसाइ व्यवस्थापन र बढ्दो प्रदूषण चुनौती बनेको छ ।

    मौरिस हर्गोज पदमार्गमा पर्यटक लैजान सहजीकरण गरिरहेका सुरेन गुरुङले पदयात्रीहरूले फालेको प्लाष्टिक, स्टिल र सिसाजन्य फोहरका कारण प्रदूषण बढेको बताए ।

    ुपदमार्ग र आधार शिविरमा प्लाष्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको छ,ु उनले भने, ‘कुहिने फोहरलाई खाडलमा गाड्ने, नकुहिनेलाई व्यवस्थापन नगर्ने हो भने यहाँको सुन्दरतामा असर पर्न सक्छ।’

    कति मात्रामा फोहर छ भन्ने यकिन नभए पनि पदयात्रीले सामान राखेर लगेका प्लाष्टिक, बोरा, बट्टा, बोत्तल, कपडा र ग्यासको खाली सिलिण्डर यत्रतत्र फालेका भेटिने गुरुङले बताए ।

    हालसम्मकै धेरै पर्यटक
    अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार चालु शरदयाममा करिब चार हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् ।

    यो याममा हालसम्मकै धेरै संख्यामा पर्यटक अन्नपूर्ण आधार शिविर गएका उनले बताए ।

    बेनी, काठमाडौँ, पोखरा, बागलुङ, चितवनलगायत सहरबाट विशेष गरेर जागिरे र युवायुवतीहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा आएका छन् ।

    तीन दिनको छोटो अवधिमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो ।

    होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।

    सरसफाइ कार्यक्रम
    फोहर बढेपछि अन्नपूर्ण गाउँपालिका र घराम्दीका खेलाडीको टोलीले पछिल्लो एक महिनाको अवधिमा दुईपटक उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरेका छन् ।

    हाल बेलायत बस्दै आएका धनकुमार पाइजाको सहयोगमा घराम्दीका भलिबल खेलाडी १९ जनाको टोलीले गत असोज १७ देखि १९ गतेसम्म कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई संकलन गरी केही तल ल्याएर जलाएका थिए ।

    यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको नेतृत्वमा स्थानीय युवाहरूको टोलीले गत हप्ता पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरिएको थियो ।

    शौचालय अभावमा समस्या
    पदमार्गमा व्यवस्थित शौचालयको पनि अभाव छ । फुतफुते भरना नजिकै रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

    भुसकेतमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा गत वर्ष शौचालय निर्माण भएको थियो। सम्धीखर्क, आरोहण आधार शिविर र पञ्चकुण्ड तालको आश्रयस्थलमा बास बस्ने पर्यटकलाई शौचालयको समस्या भएको बेनीका कनक प्रधानले गुनासो गरे ।

    जेठो हिमाल
    फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलले सन् १९५० को जुन ३ तारिखका दिन आरोहण गरेको अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हिमाल हो। सगरमाथाभन्दा तीन वर्षअघि आरोहण भएको अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ ।

    हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।

    नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलाबाट आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ ।

    अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।

    गाउँपालिकाको प्रयास
    पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पारिएको छ ।

    अध्यक्ष पुनले चालु आर्थिक वर्षमा विनियोजन भएको एक करोड बजेटबाट आश्रयस्थलको क्षमता विस्तार, शौचालय, खानेपानी, पुललगायत पूर्वाधार निर्माणमा परिचालन गरिने बताए ।

    मोबाइल र विद्युत् सुविधा विस्तारका लागि सम्बद्ध निकायमा पहल गर्नुका साथै स्थानीय सामाजिक सङ्घसंस्थासँग समन्वय गरेर फोहर व्यवस्थापनको प्रयास गरेको अध्यक्ष पुनले बताए ।

    पर्यटकको खानेबस्ने सुविधाका लागि सामुदायिक होटल तथा लज सञ्चालनको विषयमा छलफलको तयारी गरेको पनि उनले बताए ।

                                                                                                                                                                                                              सन्तोष गौतम

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend