logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   09:05 PM

  • सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षण देखिएन: पर्यटन मन्त्री

    सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आकर्षण देखिएन: पर्यटन मन्त्री


    पर्यटन नेपाल

    शनिबार, २४ कार्तिक २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्द्री पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न कार्ययोजना बनाएर सहुलियत दिँदा पनि विमान कम्पनीहरूले चासो नदिएको बताएका छन् ।

    पोखराका पर्यटन व्यवसायीसँग छलफल गर्दै मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विमान कम्पनीहरुले उडान थालेपनि पोखराबाट उडान भर्न चासो नदिएको बताएका हुन् ।

    ‘पोखरा र गौतमबुद्ध विमानस्थल चालाउन कार्ययोजना बनायौं। सहुलियत पनि दियौं तर पोखराबाट उडान भर्न आकर्षण देखिएन,’ उनले भने ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न भइरहेको बेवास्ताको कारण खोज्न आफु लागेको पनि मन्त्री पाण्डेले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टिमसँग मिलेर समस्याको खोजी गर्ने भन्दै उनले अफवाह नफैलाउन आग्रह गरे ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यारोबडी जहाज चलाउन ४० प्रतिशत लोड घटाउनुपर्ने भन्दै अफवाह फैलाएको भन्दै उनले असन्तुष्टि पोखेका छन् । उक्त अफवाह कसले फैलायो भन्नेबारे उनले खुलाएनन् ।

    ‘पोखरामा न्यारोबडी जहाज उडान पनि क्षमताको ४० प्रतिशत लोड हटाउनुपर्छ भनेका छन् । कुन आधारमा यसो भनिएको हो ? चाइनाबाट पोहोर विमान चार्टर गरेर आउँदा ८३ जना आए। क्षमता रहेनछ त्यही हो क्षमता भनेर घटाइयो भनियो ।

    अहिले १२० जना आउनुभयो। अहिले कूल क्षमताको ४० प्रतिशत घटाइएको होइन होला नी १ यसले ४० प्रतिशत लोड हटाउनुपर्छ भन्ने कुरालाई खण्डन गरेको छ,’ उनले भने, ‘क्यान लगायत हाम्रो टेक्निकल टिम छ। उसले टेक्निकल्ली समस्या छ भने यो समस्या हो भनेर भनोस्। नत्र अफवाह फैलाउने काम बन्द गर्नुपर्छ ।’

    चीनको कुनमिङ सहरबाट बिहीबार सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९ चार्टर्ड फ्लाइटबाट पोखरा आएको थियो । पोखरामा आयोजित क्रस कन्ट्री दौडमा भाड लिन उक्त जहाजमा १२० जना खेलाडी र अफिसियल ल्याएको थियो ।

    पोखराबाट नेपाल एयरलाइन्सबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पनि मन्त्री पाण्डेले प्रतिवद्धता जनाएका छन् । दसैंमा यात्रुको चाप बढी भएकाले आन्तरिक उडानमै न्यारोबडी जहाज चलाउने तयारी गरे पनि अन्तर्राष्ट्रिय यात्रुको चापले गर्दा सम्भव नभएको उनले बताए ।

    मेसो मिलाएर पोखराबाट नेपाल वायुसेवा निगमकै जहाज चलाउँछौं, अन्तर्राष्ट्रिय उडान भरेर यस विमानस्थलबारे आएका भ्रम चिर्छौ,’ उनले भने ।

    होटल एसोसिएसन अफ नेपाल (हान) पोखराको आयोजनामा भएको छलफलमा व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न सरकारले चासो नदिएको दुखेसो पोखेका थिए ।

    हान अध्यक्ष लक्ष्मण सुवेदी र पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान थाल्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend