logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:33 AM

  • बाराही जंगल लजकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड 

    बाराही जंगल लजकी नेचर गाइड एलिनालाई अन्तर्राष्ट्रिय अवार्ड 


    पर्यटन नेपाल

    सोमबार, २४ मंसिर २०८१


    काठमाडौँ । चितवनस्थित बाराही जंगल लजकी नेचर गाइड एलिना चौधरी प्रतिष्ठित  अन्तर्राष्ट्रिय अवार्ड `टिओएफ टाइगर्स लज नेचुरिलष्ट´बाट सम्मानित भएकी छन् ।

    परम्परागत रूपमा पुरुषहरूको प्रभुत्व रहेको जंगली जीवजन्तुको संरक्षण, दिगो पर्यटन र महिलाहरूको सशक्तिकरणमा पुर्‍याएको अद्वितीय योगदानको कदर गर्दै एलिनालाई अवार्ड प्रदान गरिएको हो ।

    अन्तिम पाँच प्रतिस्पर्धीलाई पछि पार्दै एलिनाले यसवर्षको अवार्ड हात पारेकी हुन् । उनलाई गत शुक्रबार भारतको नयाँदिल्लीस्थित बिकानेर हाउसमा आयोजित समारोहमा अवार्ड प्रदान गरिएको हो । उनी यो अवार्ड पाउने एकमात्र महिला हुन् ।

    प्रकृतिप्रति असाधारण प्रेम र समर्पण भएकी एलिना पारिवारिक पृष्ठभूमिका कारण पनि संरक्षण क्षेत्रमा लागेकी हुन् । पर्यटन क्षेत्रमा क्रियाशिल बुबा डि. बि चौधरी र वन्यजन्तु संरक्षणमा क्रियाशिल हजुरबुबाका कारण आफूलाई पनि यसै क्षेत्रमा लाग्ने प्रेरणा मिलेको एलिना बताउँछिन् ।

    २०१९ मा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बाट नेचर गाइडको प्रमाणपत्र प्राप्त गरेकी अलिना २०२१ देखि बाराही जंगल लजमा काम गर्न थालेकी हुन् । त्यसपछि उनले चितवन राष्ट्रिय निकुञ्जमा चराहरूको संरक्षण परियोजनामा आवद्ध भइन् ।

    बाराही जंगल लजका महाप्रबन्धक प्रकाश चन्दले एलिनाको सफलतामा गर्व लागेको बताउँछन् । ‘अलिनाको सफलता संरक्षण क्षेत्रमा महिलाहरूको तागत र समर्पणको उदाहरण हो । उनको कडा मेहनत र जोशले वन्यजन्तु र पर्यटनको परिदृश्यलाई परिवर्तन गर्दैछ । उनी र उनीजस्ता अरूलाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लागेको छ ।’

    प्रतिष्ठित अवार्डमार्फत एलिनामात्र नभइ समावेशीता र महिला सशक्तिकरणका क्षेत्रमा बाराही जंगल लजले अपनाएको कार्यशैली पनि सम्मानित भएको उनको भनाइ छ । आगामी दिनमा पनि बाराही जंगल लजले सशक्त र समावेशी वातावरण निर्माण गर्दै महिलालाई नेतृत्वका थप अवसर प्रदान गर्ने चन्दले बताए ।

    चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदीको किनारमा अवस्थित बाराही जंगल लज पर्यावरणमैत्री गन्तव्य हो । यसले आरामदायी आतिथ्यतासँगै प्रकृति संरक्षण र विविधताको प्रवर्द्धनको मूल उद्देश्यका साथ स्थापना गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend