काठमाडौँ । नक्सालमा निर्माणाधीन पाँचतारे होटेल हिल्टन आगामी असारबाट सञ्चालनमा आउने भएको छ ।
शंकर ग्रुपले निर्माण गरिरहेको पाँचतारे होटेल हिल्टन आगामी असारबाट सञ्चालन हुने निर्माण पक्षले जनाएको छ ।
जगदम्बा हस्पिटालिटी ग्रुप प्रालिमार्फत होटेल हिल्टन निर्माण भइरहेको छ । यो होटेल अन्तर्राष्ट्रिय होटेल चेन ‘हिल्टन’ को व्यवस्थापनमा सञ्चालन हुनेछ ।
गत असारसम्म होटलको ९० प्रतिशत काम सकिएको हिल्टनले जनाएको छ । आगामी डिसेम्बर (पुस) मा ‘सफ्ट लन्च’ तयारी गरिएको छ ।
होटेलमा १ सय ७४ कोठाहरू रहेका छन् । हाल होटलको लागत ६ अर्ब ८५ करोड ४० लाख पुगेको छ । यसअघि ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।
होटेल व्यवस्थापन जिम्मेवारी लिने विषयमा जगदम्बा हस्पिटालिटी र बेलायतको हिल्टन वर्ल्ड वाइड म्यानेजमेन्ट लिमिटेडबिच सम्झौता भइसकेको छ ।
यसमा हिल्टन वर्ल्ड वाइड इन्कर्पोरेटेड अमेरिकाको स्वामित्व रहेको छ । अमेरिकी हस्पिटालिटी कम्पनी हिल्टनले १ सय १८ देशमा ६ हजार २ सय १५ होटेल तथा ९ लाख ८३ हजार ४ सय ६५ कोठा व्यवस्थापन गरिरहेको छ ।
होटेल हिल्टन ‘काठमाडौँ सिटी सेन्टर’ ब्रान्डमा सञ्चालन हुने सहमति भएको छ ।