काठमाडौँ । सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०२४ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
२०२४ मा नेपालमा १३ लाख बढी पर्यटक भित्रिने आङ्कलन गरिए पनि उक्त लक्ष्य भने पुरा हुन सकेन । तर वर्षको अन्तिम दिन पनि ३ हजार पर्यटक भित्रिएको अनुमान गरिएको छ ।
प्राकृतिक प्रकोप, हवाई र सडक दुर्घटना, हिँडडुलमा असहजता, हवाई भाडा वृद्धिका बाबजुद पनि ११ लाख ४७ हजार पर्यटक नेपाल भ्रमण गरेका हुन् ।
सन् २०२० र २०२१ मा कोभिड महामारीले पर्यटनमा ठुलो प्रभाव पार्यो । कोरोना महामारी पछि भने नेपालको पर्यटन बिस्तारै लयमा फर्किँदै छ ।
यसअघि सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । त्यसपछिको दुई वर्ष सन् २०२० र २०२१ मा कोरोना भाइरसका कारण पर्यटक आगमनको सङ्ख्या निकै नै घटेको थियो ।
सन् २०२० मा २ लाख ३० हजार ८५ र २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक मात्रै नेपाल आएका थिए ।
त्यस्तै २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ पर्यटक नेपाल आएको तथ्याङ्कमा छ ।
पर्यटन बोर्ड निर्देशक मणिराज लामिछानेले भने, ‘स्थल मार्ग हुँदै भित्रिने भारतीय पर्यटकको सङ्ख्या पनि पर्याप्त नै हुन्छ । वर्षमा करिब १५ लाख भारतीय पर्यटक स्थल मार्ग हुँदै नेपाल भित्रिने अनुमान छ । तर, त्यसको आधिकारिक तथ्याङ्क कतै रहन्न । तर पनि ती पर्यटकका कारण नेपालको पर्यटनले आर्थिक लाभ भने पाएको छ । औसतमा दिनमा करिब ३ हजार जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।’
एनपीएल क्रिकेटमा भारतीय पर्यटक आगमन र ड्रागन बोट रेसमा चीनबाट ग्रुपमा पर्यटक आउनु सकारात्मक पक्ष रहेको पनि निर्देशक लामिछानेले बताए ।
कुन महिना कति पर्यटक भित्रिए ?
जनवरी ७९,१००
फेब्रुअरी ९७,४२६
मार्च १,२८,१६७
अप्रिल १,११,३७६
मे ९०,२११
जुन ७६,७३६
जुलाई ६४,५९९
अगस्ट ७२,७१९
सेप्टेम्बर ९६,३०५
अक्टोबर १,२४,३९३
नोभेम्बर १,१४,५०१
डिसेम्बर ८९,७६५