logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • विश्वभर नेपालको पर्यटन प्रबर्द्धन गर्न आईटीबी बर्लिन-२०२५ मा नेपाल पभेलियन स्थापना

    विश्वभर नेपालको पर्यटन प्रबर्द्धन गर्न आईटीबी बर्लिन-२०२५ मा नेपाल पभेलियन स्थापना


    पर्यटन नेपाल

    बुधबार, २१ फाल्गुन २०८१


    काठमाडौँ । नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन-२०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका हुन् ।

    नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन नेपाल पर्यटन बोर्डले २८ प्रतिष्ठित पर्यटन व्यवसायीहरूलाई यस मञ्चमा सहभागी गराउनु भएको छ, जसमा एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिंग र प्रिमियम आतिथ्य सेवाहरूको समावेश छ ।

    मन्त्री पाण्डेले उद्घाटन समारोहमा नेपालका अद्वितीय पर्यटकीय सम्भावनाहरूको चर्चा गर्दै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रबर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    समारोहमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेती र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीहरूको उपस्थिती रहेको थियो ।

    नेपाल पभेलियनमा नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, सांस्कृतिक धरोहर र अन्य प्रमुख पर्यटन गन्तव्यहरू प्रस्तुत गरिने छन् । आईटीबी बर्लिन(२०२५ लाई नेपालको दिगो पर्यटन प्रतिबद्धता र प्रबर्द्धनका लागि उपयुक्त अवसरका रूपमा प्रयोग गर्नु पर्ने मन्त्री पाण्डेले बताएका छन् ।

    आईटीबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्‍चमा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणहरूलाई प्रबर्द्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सीईओ जोशीले विश्‍वास व्यक्त गरे ।

    यो कार्यक्रम नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवर्द्धन गर्नका साथै, अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ ।

    यसले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाहरूको खोजी गर्ने र नेपाललाई विश्वभरका पर्यटकहरुसमक्ष प्राथमिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने बोर्डको अपेक्षा छ ।

    सन् १९९६ बाट सुरू भएको आईटीबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो र यस वर्ष १८० भन्दा बढी देशबाट १०,००० भन्दा बढी पर्यटन व्यवसायीहरूको सहभागिता रहने छ ।

    नेपालले यस मञ्चलाई आफ्नो हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनका विशेष अनुभवहरूलाई विश्वभर चिनाउनको लागि निरन्तर सक्रिय रूपमा प्रयोग गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend