बर्लिन (जर्मनी) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले विदेशमा पुगेका ताडपत्र नेपालमा फिर्ता गर्न पहल थालेका छन् ।
शुक्रवार जर्मनीको बर्लिनस्थित हाइडेलबर्ग विश्वविद्यालयको भ्रमण गर्दै मन्त्री पाण्डेले नेपालबाट २ सय वर्षअघि नै जर्मनी पुगेका ताडपत्र फिर्ताका विषयमा छलफल गर।ेका छन् ।
नेपाल अध्ययन र अनुसन्धानमा ख्यातिप्राप्त हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संकायका प्राडा सिमोन चुबेलिचको नेतृत्वमा प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्रशासकहरूसँग नेपालसम्बन्धी अध्ययन र अनुसन्धानका विषयमा छलफल भएको जानकारी मन्त्री पाण्डले दिएका छन् ।
‘विभिन्न माध्यम हुँदै जर्मनी पुगेका ६००/७०० वर्ष पुराना ताडपत्रमा लेखिएका पाण्डुलिपिहरूको एक संग्रह करिब २ सय वर्षअघि यस विश्वविद्यालयमा आइपुगेको रहेछ,’ मन्त्री पाण्डेले फेसबुकमा लेखेका छन् । ‘ती अत्यन्त महत्त्वपूर्ण सामग्रीहरू नेपालमै फिर्ता गरिनु पर्छ भन्ने विश्वविद्यालयको धारणा रहेको जानकारी पायौँ । ती सामग्रीहरू फिर्ता ल्याउन आवश्यक प्रक्रिया र सम्भावनाका बारेमा गहन छलफल भएको छ।’
ताडपत्रहरूलाई नेपालमा फिर्ता गर्न जर्मनीस्थित नेपाली दूतावासबाट गरिएको पहलकदमी र हाल नेपाल सरकारले ताडपत्र फिर्ता गर्ने पहल थालेपछि विश्वविद्यालय पनि ती ताडपत्र फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । हाइडेलबर्ग विश्वविद्यालयमा १३८६ मा स्थापना भएको युरोपकै पुरानोमध्येको एक विश्वविद्यालय हो ।
मन्त्री पाण्डले जर्मनीमा डा. निराजन काफ्ले, डा. माणिक वज्राचार्य, डा. रामहरि तिमल्सिना, र डा. राजन खतिवडालगायतसँग ताडपत्र फिर्ता, युरोपेली विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययनका विषयमा कुराकानी गरेका थिए ।
यसका साथै नेपालबाट युरोप पुगेका ऐतिहासिक सामग्रीहरूको खोजी, संरक्षण र फिर्ता गर्ने प्रक्रियाका विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।