logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   04:14 PM

  • आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल  सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन

    आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल  सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन


    पर्यटन नेपाल

    मंगलबार, १२ चैत्र २०८१


    काठमाडौँ । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाैँ टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् ।

    मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गरेका हुन् ।

    यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ ।

    स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

    आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।

    आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ ।

    आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।

    उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताए ।

    उनले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए ।

    स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीले बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौँ टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताउनुभयो ।

    उहाँले यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    `नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,´ उनले बताए ।

    `हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ,´ उनले बताए ।

    सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनले बताए ।

    अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको बताए ।

    `स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,´ उनले ।

    काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामि दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताए ।

    उनले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताए ।

    यस स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ, उनले भने ।

    केटीएसले आफ्ना विद्यार्थीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको उनले बताए ।

    कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कुटनीतिक नियोग तथा दात्रृ निकायका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend