काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
अधिकारीलाई सरकारले २०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरेको थियो ।
गत शुक्रबार गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि राष्ट्र बैंक गभर्नर बिहिन भएको थियो । गभर्नर महाप्रसाद अधिकारीको ५ बर्षे कार्यकाल गत शुक्रबार सकिएको हो ।
गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन् ।
सिफारिस भएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।