logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:12 AM

  • बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन

    बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन


    पर्यटन नेपाल

    आइतबार, १४ बैशाख २०८२


    काठमाडौँ । चीनको राजधानी बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ ।

    नेपाल पर्यटन बोर्डले बेइजिङमा आयोजित १८औँ ‘चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम–२०२५०’ मार्फत नेपालका पर्यटकीय गन्तव्यहरू प्रस्तुत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि आग्रह गरेको हो ।

    अप्रिल २४ देखि २६ सम्म नेशनल एग्रीकल्चरल एक्जिबिसन हलमा आयोजना भएको तीन दिने प्रदर्शनीमा करिब ५० देशका पर्यटन प्रतिनिधिहरू सहभागी थिए ।

    नेपालले हिमशृङ्खला, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका अवसरहरूलाई सङ्गठित ढङ्गले चिनियाँ बजारमा प्रस्तुत गरेको बोर्डले जनाएको छ ।

    बोर्डले चिनियाँ पर्यटकहरूका लागि नेपाललाई थप आकर्षक गन्तव्यका रूपमा उजागर गर्ने उद्देश्यले नेपालका गन्तव्य प्रदर्शन गरिएको उल्लेख गरेको छ ।

    कार्यक्रममा नेपालका लागि चीनस्थित नेपाली राजदूत डा। कृष्णप्रसाद ओली, प्रथम सचिव मनहरी दंगाल र छेन्दुस्थित उप-महावाणिज्यदूत छिमान सिंह बुढाथोकीले नेपालको स्टल अवलोकन गरेको थियो ।

    उनीहरूले चिनियाँ पर्यटन व्यवसायीसँग भेटघाट गर्दै पर्यटन प्रवर्द्धन तथा आपसी सहकार्य विस्तारका विषयमा छलफल समेत गरेकोले बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

    नेपालको स्टलमा परम्परागत वास्तुकला, सांस्कृतिक सम्पदा, जैविक विविधता र हिमाली दृश्यहरूलाई सुसज्जित गरी प्रदर्शन गरिएको थियो ।

    साहसिक पर्यटन, प्राकृतिक भ्रमण र सांस्कृतिक अनुभवहरूका सम्भावनाहरूलाई विशेष रूपमा उजागर गरिएको थियो । यसका साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीहरूबिच अन्तरक्रिया हुँदै भविष्यमा सहकार्यका नयाँ सम्भावनाहरूका विषयमा छलफल गरिएको थियो ।

    बोर्डको रणनीतिक उपस्थितिले चिनियाँ बजारमा नेपालको पर्यटन छवि मजबुत बनाउने अपेक्षा गरिएको छ । यस सहभागिताबाट चिनियाँ पर्यटक आगमन वृद्धि, पर्यटन व्यवसायीहरूबिच दीर्घकालीन सहकार्य विकास र नेपालको पर्यटन बजारमा नयाँ अवसर सिर्जना हुने विश्वास लिइएको छ ।

    चाइना आउटबाउन्ड ट्राभल एन्ड टुरिजम मार्केट (कोटम) चीनको प्रमुख बीटूबी पर्यटन प्रदर्शनी हो, जसले सन् २००५ देखि विश्वका विविध गन्तव्य र चीनका पर्यटन व्यवसायीहरूबिच सहकार्यको महत्त्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend