logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:14 AM

  • भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न आग्रह

    भेडेटारको स्काइवाक पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीको पर्यटनमा लगानी गर्न आग्रह


    पर्यटन नेपाल

    शुक्रबार, १९ बैशाख २०८२


    भेडेटार (धनकुटा) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गरेका छन् ।
    आज भेडेटारस्थित स्काइवाक अवलोकनपछि उनले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै लगानी गर्न आग्रहसहित अवाश्यक सहजीकरणका लागि आफू तयार भएको बताए ।
    “स्काइवाकमा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ, डर मिश्रित खुसीको अनुभव भयो । म चाहन्छु, निर्माण कम्पनीले कर्णाली प्रदेशको पर्यटन विकासका लागि लगानी गरोस्, यसका लागि प्रदेश सरकार सहजीकरणका लागि तयार छ”, मुख्यमन्त्री कँडेलले भने । उनले स्काइवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको प्रतिक्रिया समेत दिए ।
    धनकुटाको साँगुरीगढी गाउँपालिका-४ र धरान उपमहानगरपालिका-६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा २० करोडमा स्काइवाक निर्माण गरिएको हो । स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनिल भुसालले बताए ।
    स्काइवाकबाट भेडेघाटर बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ । स्काइवाकको अनुभव लिनका लागि प्रतिव्यक्ति ५०० शुल्क तोकिएको छ ।
    स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ भने परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा करिब १०० जनाले रोजगारी पाएका छन् । यहाँ स्वदेशीसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेको स्काइ वाक भेडेटारका प्रवन्ध निर्देशक सञ्जीव रोक्काले बताए ।
    स्काइवाक अवलोकनमा  नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले नेता विशाल भट्टराई, यज्ञराज सुनुवार, कोसी प्रदेशसभा सदस्य निरन राई, साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दालीलगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend