पोखरा । पोखरादेखि भारतका विभिन्न शहर र युनाइटेड अरब इमिरेट्स (युएई) मा सिधा हवाई उडान संचालन गर्न पोखराका पर्यटन व्यवसायीहरुले ले माग राखेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदा सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमणको प्रमुख एजेण्डामा पोखरा–भारत सिधा हवाई उडान संचालनलाई राख्न व्यवसायीले माग राखेका हुन् ।
होटल संघ पोखराको पहलमा बिहिबार अर्थमन्त्री विष्णु पौडेललाई भेट्न पुगेका व्यवसायीले प्रधानमन्त्री ओलीलाई भेटेर उक्त माग राख्ने तयारी गरेका थिए ।
भारतको राजधानी नयाँ दिल्ली, बनारश लगायतका शहरमा पोखराबाट सिधा उडान गर्न व्यवसायिक हिसाबले सम्भव हुने भन्दै व्यवसायीले अर्थमन्त्री पौडेलमार्फत उक्त माग राखेका छन् ।
राज्यले ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि नियमित संचालन हुन नसक्दा पर्यटन व्यवसाय पनि धरासायीमा परेका छन् ।
पोखराका होटल व्यवसायीको प्रतिनिधि मण्डलले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएइ)का राजदुत अब्दुल्ला सइद मुवारकलाई पनि पोखराबाट युएई सिधा हवाई उडानको पहल गरिदिन आग्रह गरेका छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुष १७ गतेदेखि संचालनमा आएको छ । विमानस्थल संचालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु हुन सकेको छैन ।