काठमाडौँ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका छन् ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार सङ्ख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठुलो सङ्ख्या थियो ।
नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए । यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्याङ्क छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् । चीन बाड ६ हजार ८८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बङ्गलादेशबाट ४ हजार २९२, श्रीलङ्काबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् ।
