logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • २०२४ मा ७ लाख पर्यटक भित्र्याउने भरतपुर महानगरको लक्ष्य, ‘घुमौँ भरतपुर’ अभियान सुरु

    २०२४ मा ७ लाख पर्यटक भित्र्याउने भरतपुर महानगरको लक्ष्य, ‘घुमौँ भरतपुर’ अभियान सुरु

    महानगरले ७ लाख पर्यटक सन् २०२४ भित्रमा भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी गरिरहेको छ । 


    पर्यटन नेपाल

    बुधबार, १५ कार्तिक २०८०


    काठमाडौँ । भरतपुर महानगरपालिकाले ‘घुमौँ भरतपुर’ अभियान सुरु गरेको छ ।

    बुधवार पत्रकारसँगको अन्तर्क्रियामा मेयर रेणु दाहालले ‘घुमौँ भरतपुर’ अभियान सुरु गरेको बताइन् । महानगरले ७ लाख पर्यटक सन् २०२४ भित्रमा भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी गरिरहेको छ ।

    महानगरले भ्रमण वर्षमा ७ लाख पर्यटकहरूले भरतपुर महानगरपालिकाभित्रका विभिन्न गन्तव्यको अवलोकन गर्ने लक्ष्य राखेको छ । महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले अहिलेसम्म वार्षिक करिब ३० हजार जना विदेशी पर्यटक भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गरेको बताए ।

    सन् २०२४ मा भरतपुर महानगरका नाकाबाट निकुञ्ज प्रवेश गर्ने विदेशी पर्यटकको सङ्ख्या २ लाख पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

    पर्यटकले बाघ, एक सिंगे गैँडा लगायतका प्रजातिको अवलोकन गर्न सक्ने छन् । त्यसका लागि महानगरले भरतपुर–१३ देवनगरमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न लागेको छ । भरतपुर महानगरले ५५ वटा देशहरूमा एनएनआरएनका प्रतिनिधिहरूमार्फत भरतपुर भ्रमण वर्षको प्रचार गरिरहेको छ ।

    चितवन राष्ट्रिय निकुञ्ज महानगरसँग जोडिएको प्रमुख पर्यटकीय स्थल हो। देवघाट, मेघौली, गोलाघाट, पटिहानी, जगतपुर, बिसहजारी ताल, बाटुली पोखरी, नारायणी नदी किनारको क्षेत्र, शिवघाट, बागेश्वरी, गणेश धाम, चौकी डाँडालगायतका आन्तरिक पर्यटकको आकर्षणका गन्तव्य भरतपुर महानगरपालिकामा छन् । ३१ वटा गन्तव्यको सूची प्रकाशन गर्दै महानगरले ती क्षेत्रलाई व्यवस्थित बनाउने काम अहिले भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend