logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:57 PM

  • ‘बन्दीपुरलाई नमुना पर्यटकीय केन्द्र बनाउँछौँ’

    ‘बन्दीपुरलाई नमुना पर्यटकीय केन्द्र बनाउँछौँ’


    पर्यटन नेपाल

    बिहिबार, १६ कार्तिक २०८०


    तनहुँ । बन्दीपुर प्राकृतिक मनोरम दृश्य, सांस्कृतिक बस्ती र रहनसहनले पर्यटकमाझ चर्चित छ । पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरलाई गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको सूचीमा पहिलो नम्बरमा राखेको छ ।

    बन्दीपुर गाउँपालिका प्राकृतिक सुन्दरता, भूवनोट र मौलिक सांस्कृतिक विशेषताले भरिपूर्ण छ। २०७१ सालमा साबिक धरमपानी र बन्दीपुर गाउँ विकास समितिलाई समेटेर बन्दीपुर नगरपालिका घोषणा गरिएको थियो । २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसँगै साबिक बन्दीपुर नगरपालिका, घाँसीकुवाका गाविसको १ र ९ वडा र केशवटार गाविसका १, ८ र ९ वडालाई समावेश गरी छ वटा वडासहितको बन्दीपुर गाउँपालिका घोषणा भएको हो ।

    २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र प्रचारप्रसारले बन्दीपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रूपमा विश्वभर प्रसिद्ध छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का तर्फबाट सुरेन्द्र थापा निर्वाचित भएका छन् । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापासँग गरिएको कुराकानी :

    गाउँपालिकाको काममा प्राथमिकता निर्धारण गर्नुभएको छ ?
    हामीले विशेष गरी पूर्वाधारको कामलाई निष्कर्षमा पुर्‍याउन पुरानो ठेक्काको काम सम्पन्न गर्न लागेका छौँ। ठुला ठुला ठेक्कामा लागेका काम मङ्सिरसम्ममा पूरा गरी यातायातलाई सहज बनाउन लागि परेका छौँ। । टेन्डर र ठेक्कामा लागेका काम निर्धारित समयमा नै पूरा गर्न बारम्बार ताकेता गरेका छौँ। घरघरै विशेषज्ञसहितको सेवा पुर्‍याउन वडा वडामा पुगेर घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ। बन्दीपुर अस्पतालको सेवा विस्तार अन्तर्गत डुम्रे बजारबाटसमेत सेवा प्रदान गर्ने कार्यक्रम अघि बढाएकाछौँ। शिक्षालाई प्रभावकारी बनाउन प्राधानाध्यापक र पालिका, शिक्षक र प्रधानाध्यापकबिचको सम्झौता गरेका छौँ। पर्यटकलाई आकर्षित गर्न उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कामलाई तीव्रता दिएका छौँ। कृषिमा एक गाउँ एक नर्सरी र व्यावसायिक फलफूल खेतीको कार्यक्रम, मौरीपालनको कार्यक्रम गरिएको छ। यहाँका युवालाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन विभिन्न प्रतियोगिता सञ्चालन गरेका छौँ। आर्थिक, सामाजिक र शैक्षिक पक्ष सबल बनाउन अघि बढेका छौँ।

    बन्दीपुर बजारको मौलिकता बचाउन र पर्यटन प्रवर्धन गर्न काम भएको छ ?
    बन्दीपुर बजारलाई संरक्षित क्षेत्र घोषणा गरेका छौँ। पौराणिकता झल्किने खालका घर निर्माण गर्न नियम लागु गराएका छौँ। होडिङबोर्ड हटाएर काठका बोर्ड राख्न लगाएका छौँ। सरफाइ र प्राङ्गारिक तरिकाबाट खेती गरी उत्पादन गर्न जोड दिएका छौँ। समग्र बन्दीपुरको पर्यटन प्रवर्धनका लागि कला संस्कृतिलाई संरक्षण गर्ने कार्यक्रम गरेका छौँ।

    बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले बाहिरबाट आएका खानेकुरामा निरुत्साहित गरी एग्रोटुरिजमको कार्यक्रम अघि बढाएका छौँ। बन्दीपुरमा रहेका १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित विभिन्न १० भाषामा तयार गरेका छौँ। पर्यटकीय गन्तव्यको बारेमा अब गाउँपालिकाका विभिन्न स्थानमा क्युआर कोड स्क्यान गरी सजिलै पढ्न तथा सुन्न सकिने व्यवस्था गरिसकेका छौँ।

    बन्दीपुर होमस्टे, कला र संस्कृतिले भरिएको छ। ढुङ्गा छपनीको काम गर्ने र प्रचारप्रसार गर्ने प्रवर्धनात्मक कामलाई प्राथमिकता दिएका छौँ। योबाहेक पोखरा, काठमाडौँ, विराटनगरमा घुम्न जाउँ है बन्दीपुर भन्ने कार्यक्रम राखेका छौँ। बन्दीपुरको पर्यटनलाई अझै उचाइमै पुर्‍याउने र सफासुग्घर राख्ने, बाटोघाटो आकर्षक बनाउने, सडक कालोपत्रे गराउने काममा लागेका छन्। पर्यटनका अतिरिक्त कृषि, स्वास्थ्य र शैक्षिक क्षेत्रको हवको रूपमा बन्दीपुरलाई विकास गरी युवालाई यहीँ रोजगार दिन लागि परेका छौँ।

    काम गर्दा चुनौतीको सामना गर्नु परेको छ ?
    ठेकेदारले समयमा काम नगर्ने रोग छ। यसलाई हटाउन कडा रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता छ। हामी निर्वाचित हुनभन्दा अघिका कामलाई सम्पन्न गर्न पटक पटक ताकेता गरेर अघि बढायौँ। नेताले बजेट विनियोजन गर्दा पहुँचको आधारमा आफ्नो ठाउँमा हेर्ने गरेकाले जे जति रूपमा विकासको काम गर्नुपर्ने हो त्यो हुन सकेको छैन।

    बजेट पार्दा खेरी सङ्घ तथा प्रदेश सरकारले पालिकासँग समन्वय नगर्दा समस्या पर्ने गरेको छ। पहुँचको आधारमा आफ्नो तालले बजेट पार्दा महत्व कुन भन्ने कुरामा ध्यान पुग्न नसक्दा समानुपातिक तरीकाबाट विकास गर्न कठिन भएको छ।

    तपाईंले गरेका उल्लेखनीय काम के के हुन् ?
    पर्यटनको क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएका छौँ। उज्यालो बन्दीपुर अन्तर्गत गाउँका कुना कुनामा समेत सडक र बस्ती झलमल पार्ने काम गरेका छौँ। गुणस्तरीय शिक्षाको लागि सबैको सहभागिता भन्ने नाराका साथ कक्षाकोठाको शैक्षिक क्रियाकलापको सूक्ष्म रूपमा अध्ययन गरी सुधार गर्ने अभियान चलाएका छौँ। म पनि पूर्वशिक्षक भएकाले कक्षाकोठामा भएको पठनपाठनमा प्रत्यक्ष अवलोकन गर्ने गरेको छु। यसले शिक्षामा सुधार ल्याउन मद्दत पुगेको छ।

    काम गर्दा समन्वय गर्न सहज छ ?
    बन्दीपुरका सबै राजनीतिक दल, सङ्घसंस्थाबाट साथ र सहयोग प्राप्त भइराखेको छ। सबैजना मिलेर अघि बढ्न सकियो भने बन्दीपुरको विकास गर्न सकिन्छ। बन्दीपुरका सबै जनताको समानुपातिक विकास गर्न हामी कटिबद्ध छौँ, सबैको साथ र सहयोगका साथ अगाडि बढ्ने र कमी कमजोरीलाई सुधार गरेर लैजान प्रतिबद्ध छौँ। गोरखापत्रबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend