logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:12 AM

  • अझै लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय

    अझै लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय


    पर्यटन नेपाल

    बिहिबार, १६ कार्तिक २०८०


    काठमाडौँ । केही वर्ष अघिसम्म असोज-कात्तिक र चैत-वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको होटेल व्यवसायी जुली ठकुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन ।

    पर्यटकको ‘पिक सिजन’ असोज–कात्तिकको याममा पछिल्लो पाँच वर्षयता जुलीलाई पहिलेको जस्तो भ्याइनभ्याइ छैन ।

    घोडेपानीकै होटेल व्यवसायी सपना गुरुङ पनि जुलीजस्तै फुर्सदिलो छिन् । कोरोना भाइरसको महामारी फैलिएपछि सुस्ताएको घोडेपानीको पर्यटन आगमन र होटेल व्यवसाय अझै लयमा फर्कन सकेको छैन ।

    विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको विभिन्न गन्तव्यमा जाने नाकामा रहेको घोडेपानी नेपालकै प्रसिद्ध पर्यटकीय स्थल हो । कोरोनाले थला परेको पर्यटक आगमन पुरानो लयमा फर्कन नसक्दा होटेल व्यवसाय प्रभावित बनेको घोडेपानी होटेल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् ।

    “पहिला याममा सबै होटेल पाहुनाले भरिभराउ हुन्थे । अहिले दुई चार वटामा मात्र पाहुना छन् । त्यही पनि नियमित छैन,” उनले भनिन्, “कोरोना महामारीको समयको तुलनामा अहिलेको पर्यटक आगमन राम्रो त हो तर कोरोना सुरु हुनु अघिको जस्तो छैन ।” घोडेपानी आसपासको उल्लेरी, तिखेढुङ्गा, चित्रे, शिख क्षेत्रका होटेल व्यवसायीको अवस्था झन् नाजुक छ । घोडेपानीमा दैनिक एक हजार जना बास बस्न सक्ने क्षमताका साना ठुला गरी ३० होटेल छन् ।

    दसैँ(तिहारको याममा घोडेपानीमा स्वदेशी पर्यटकको चाप पनि उत्तिकै हुने गरेको थियो । घोडेपानीको होटेल व्यवसायी ज्ञानबहादुर पुनले कोरोना महामारीपछि विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दिरको असर पर्यटक आगमन र होटेल व्यवसायमा परेको बताए । “कोरोनाले सबैको आम्दानीमा असर गरेको छ । आम्दानी कम हुँदा घुमघाम गर्न निस्कने घटेका हुन,” उनले भने, “आएकाले पनि खर्च र भ्रमण गर्ने समय छोट्याएका छन् ।”

    २०८० साल सुरु भएयता म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुन हिल क्षेत्रमा पन्ध्र हजार जना विदेशी पर्यटकले भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पर्यटक प्रहरी हबल्दार रामबहादुर खत्रीका अनुसार २०७९ सालमा २६ हजार तीन सय ११ जना पर्यटकले घोडेपानी पुन हिल क्षेत्रको भ्रमण गरेका थिए । कोरोनाअघि वार्षिक ६० देखि ७० हजार पर्यटक आउने गरेका थिए ।

    समुद्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुन हिल क्षेत्रमा गण्डकी प्रदेशकै ठुलो लालीगुराँसको जङ्गल छ ।

    अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी-उल्लेरी, छोम्रोङ-घान्द्रुक-टाडापानी हुँदै र नागी-महरे हुँदै गरी चार वटा नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारीसाधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक एका बिहानै पुन हिल भ्रमणमा जाने गर्दछन् ।

    विदेशी पर्यटक आगमन कम भएकाले नेपाली पर्यटकलाई आकर्षित गराउन छुटको कार्यक्रम ल्याएका छन् । घोडेपानी जोड्ने पोखरेबगर-चित्रे सडक कालोपत्रको अन्तिम चरणमा रहेकाले सडक मार्गबाट आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend