काठमाडौँ । Fineserve Global द्वारा आयोजना गरिएको ‘Kickfest Futsal League 2026, Corporate Edition’ शनिबार क्लब मध्यपुर फुटसलमा सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा विभिन्न कर्पोरेट संस्थाहरूको सहभागिता रहेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कृषि विकास बैंक विजेता बन्न सफल भयो । विजेता कृषि विकास बैंकले नगद १,००,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने Zakipoint Health Nepal उपविजेता बनेको छ ।
उपविजेता Zakipoint Health Nepal ले नगद ४०,००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
कृषि विकास बैंकले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
पहिलो खेलमा आयोजक टोलीलाई ४-० गोलले पराजित गरेको बैंक टोलीले दोस्रो खेल १–०, तेस्रो खेल ३–० र चौथो खेल ३–२ गोलले जित्दै समूह चरण पार गरेको थियो ।
यसैगरी सेमिफाइनलमा कडा प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा २-१ ले विजयी हुँदै कृषि विकास बैंक फाइनल प्रवेश गरेको थियो । फाइनल खेलमा पनि Zakipoint Health Nepal सँग निर्धारित समयमा बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा कृषि विकास बैंकले ३-१ ले विजयी हुँदै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो ।
राति १० बजे सम्पन्न प्रतियोगितामा आयोजकले राम्रो व्यवस्थापनसहित खेल सञ्चालन गरेको सहभागीहरूले बताएका छन् । प्रतियोगिताले कर्पोरेट संस्थाबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत टीमवर्क र उत्साह अभिवृद्धि गर्न सहयोग पुगेको बताइएको छ ।