logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • आन्तरिक पर्यटकको रोजाइमा रारा, इको टुरिजमका लागि उत्कृष्ट गन्तव्य

    आन्तरिक पर्यटकको रोजाइमा रारा, इको टुरिजमका लागि उत्कृष्ट गन्तव्य


    पर्यटन नेपाल

    बुधबार, २३ बैशाख २०८३


    काठमाडौं। स्वर्ग कि अप्सरा भनेर चिनिने मुगुमा रहेको रारा ताल आन्तरिक पर्यटकको रोजाइमा परेको छ। समुद्री सतहबाट झण्डै ३ हजार मिटर उचाइमा रहेको यो ताल वरिपरि हरियाली, डाँडाकाँडा र चराचुरुङ्गी हेर्न नौ महिनामा १३ हजार ८ सय ८३ पर्यटक पुगेका छन्

    रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म आन्तरिक पर्यटक मात्र १३ हजार ६ सय ६१ जना पुगेका छन्। सार्क राष्ट्रका पर्यटक ६९ छन् भने अन्य देशका पर्यटक १३३ पुगेका छन्।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार अहिले दैनिक ६० देखि ७० जना पर्यटक रारा पुग्ने गरेका छन्। पर्यटकको यो चापलाई हेर्दा असार मसान्तसम्म कुल संख्या १९ हजार पुग्ने अनुमान गरिएको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा धेरै हो।

    पर्यटकको आगमन बढेसँगै निकुञ्जको आम्दानीमा पनि वृद्धि भएको छ। नौ महिनाको अवधिमा निकुञ्जले कुल ५२ लाख ३४ हजार ३ सय ३१ रुपैयाँ राजस्व संकलन गरेको छ। यसमध्ये २५ लाख १३ हजारभन्दा बढी रकम पर्यटन शुल्कबाट मात्र उठेको हो।

    निकुञ्जले पर्यटकको वर्गीकरण अनुसार फरक-फरक प्रवेश शुल्क तोकेको छ। नेपाली पर्यटकलाई प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क लाग्छ भने सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार ५०० र अन्य विदेशी पर्यटकले प्रतिव्यक्ति ३ हजार रुपैयाँ तिर्नुपर्छ।

    राराका आकर्षण

    रारा भ्रमणको मुख्य आकर्षणहरू डुङ्गा सवारी हो। रारा तालको नीलो र सफा पानीमा डुङ्गा सयर गर्न पाइन्छ।

    मूर्मा टप तालको मनोरम दृश्य हेर्न सकिने उत्कृष्ट स्थान हो। त्यस्तै, तालको किनारै किनार शान्त वातावरणमा पदयात्रा गर्न सकिन् भने प्रकृतिको मनोरम दृश्य र राराको भिन्न भिन्न रङ (नीलोरहरियो) फोटोमा कैद गर्न सकिन्छ।

    रारा ताल जान हवाई मार्ग भएर नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलसम्म पुग्न सकिन्छ भने त्यहाँबाट करिब ३ घण्टा पदयात्रा वा जिपमा रारा भएर जान सकिन्छ ।

    त्यस्तै, सडक मार्ग भएर काठमाडौँ वा नेपालगञ्जबाट कर्णाली राजमार्ग हुँदै गाडीमा नाग्म-गमगढी मार्ग भएर पुग्न सकिन्छ। नेपाल पर्यटन बोर्ड र स्थानीय तहले काठमाडौँ-रारा पर्यटक बस सेवा र होटल पूर्वाधार सुधार्ने काम गरिरहेका छन्। पछिल्लो समय सडक यातायातको सहजता र प्रचार(प्रसारका कारण रारा घुम्न जाने नेपालीहरूको संख्यामा ठूलो वृद्धि भएको निकुञ्ज कार्यालयले जनाएको छ।

    सरकारी नीतिले रारामा पर्यटक बढ्ने अपेक्षा
    सरकारले आफ्नै सवारी साधन लिएर नेपाल आउने विदेशी पर्यटकका लागि प्रक्रिया झन्झटमुक्त बनाएकाले रारामा पर्यटक बढ्ने अपेक्षा गरिएको छ।

    रारा लगायतका पर्यटकीय स्थलहरूमा आफ्नै गाडी लिएर आउन चाहने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी सरकारले अस्थायी सवारी आयात अनलाइन प्रणाली सुरु गरेको हो।

    अब भन्सार नाकामा लाइन लागेर भौतिक फाराम भर्नुपर्ने छैन। पर्यटकले घरबाटै अनलाइन विवरण भर्न र राजस्व तिर्न सक्नेछन्। राजस्व तिरेपछि प्राप्त हुने क्यूआर कोड देखाएर नाकाबाट सिधै नेपाल छिर्न सकिनेछ। नेपाल बसाइको अवधि थप्नु परेमा पुनः नाका पुग्नु पर्दैन, अनलाइनबाटै म्याद थप गर्न सकिन्छ।

    सीमा नाकामा सुरु भएको अनलाइन सहजीकरणले गर्दा सडक मार्ग हुँदै नेपालका दुर्गम तर सुन्दर पर्यटकीय स्थलहरू जस्तै रारा, फोक्सुण्डोसम्म पुग्ने विदेशी पर्यटकको संख्या अझै बढ्ने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend