काठमाडौं। कैलाली उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेका बेला ०६४ मा ‘सुन्दर सुदूरपश्चिम’ अभियान थालेका गोपाल हमाल अहिले धनगढी उपमहानगरपालिकाको मेयर छन्। ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएका हमालले अहिले नयाँ अभियान थालेका छन्, सुदूरपश्चिम प्रदेशको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’।
ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको प्रचार(प्रसार गरी पर्यटक लोभ्याउने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो।
यो अभियानले सुदूरपश्चिमका नौवटै जिल्लामा रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको पहिचान र ब्रान्डिङ गर्ने लक्ष्य राखेको छ। चिसापानीलाई सुदूरपश्चिमको प्रवेशद्वार मानिँदै आएको सन्दर्भमा यहाँ आउने पर्यटकलाई प्रदेशका दुर्गम तर सुन्दर ठाउँहरूसम्म पुर्याउन यो अभियानले पुलको काम गर्ने लक्ष्य राखेको छ।
यसै अभियान अन्तर्गत पछिल्लो चरणमा ३० सदस्यीय टोली दार्चुलास्थित अपि हिमालको आधार शिविर गएको छ। मेयर हमाल भने स्वास्थ्य समस्याका कारण फर्किसकेका छन्। पदयात्राका क्रममा टोलीले अपि बेस क्याम्पसम्मको मार्ग, त्यहाँको पूर्वाधारको अवस्था र पर्यटकीय आकर्षणका बारेमा वृत्तचित्र तथा सामग्रीहरू तयार पार्नेछ।
मेयर हमालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो प्रदेश सुन्दर छ, तर प्रचारको अभावमा ओझेलमा परेको छ। जनप्रतिनिधि आफैँ पुगेर सन्देश दिँदा पर्यटनमा सकारात्मक प्रभाव पर्ने विश्वासका साथ हामी यो अभियानमा छौँ।’
पर्यटन प्रवर्द्धनमा हुने सहयोग र योजना
यस अभियानले विशेष प्रवर्द्धनमा टेवा पुर्याउने योजना बनाएको छ। अपि, सैपाल, खप्तड र रामारोशन जस्ता प्रमुख पर्यटकीय क्षेत्रहरूको ब्रान्डिङ गर्ने लक्ष्य रहेको हमालले बताए।
त्यस्तै, जनप्रतिनिधि आफैँ पदयात्रामा निस्किँदा अन्य युवा र पर्यटकहरूमा पनि ती क्षेत्रको भ्रमण गर्ने उत्साह जगाउने अपेक्षा छ। पर्यटकको आवागमन बढ्दा ग्रामीण भेगका होमस्टे, साना होटल र स्थानीय कृषि उत्पादनको खपत बढ्ने आकलन छ।
स्थलगत भ्रमणका क्रममा देखिएका बाटो र सुविधाहरूको अभावलाई सम्बन्धित निकायसम्म पुर्याई पूर्वाधार विकासका लागि पहल गर्ने बताइएको छ।
धनगढी उपमहानगरपालिकाले यो अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै सुदूरपश्चिमलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने दीर्घकालीन योजना अघि सारेको छ। मेयर हमालले पर्यटकीय क्षेत्र मात्र नभई यहाँको वेशभूषा, संस्कृति र सम्भावनालाई उजागर गर्न खोजिएको बताए। अभियानमा निजी क्षेत्र, संघसंस्था र आमनागरिकलाई पनि जोडेर लैजाने उपमहानगरको योजना छ ।