काठमाडौँ। सरकारले पर्यटन क्षेत्रको समग्र विकास, हवाई पूर्वाधार विस्तार र सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नागरिक उड्डयनमा संरचनात्मक सुधारदेखि ‘भिजिट नेपाल २०८५’ को तयारीसम्मका महत्त्वाकाङ्क्षी योजनाहरू सरकारले अघि सारेको हो ।
हवाई पूर्वाधार र विमानस्थलको आधुनिकीकरण
सरकारले हवाई सेवालाई भरपर्दो र प्रतिस्पर्धी बनाउन अन्तर्राष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गर्ने नीति लिएको छ । नागरिक उड्डयन क्षेत्रमा संरचनात्मक सुधार गर्दै निजी क्षेत्रको सहभागिता विस्तार गरिने भएको छ ।
विमानस्थलमा यात्रुको प्रतीक्षा समय घटाउन ई-गेट प्रणाली जडान गरिने र पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन बनाइने उल्लेख छ। गौतम बुद्ध र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकहरूलाई आकर्षित गर्न कूटनीतिक पहल गरिने सरकारको योजना छ।
देवभूमि नेपाल’ र आध्यात्मिक पर्यटन
नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न सरकारले ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ। पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रको प्रवर्धनका लागि ‘आध्यात्मिक तीर्थ कूटनीति’ अवलम्बन गरिनेछ। नेपाललाई धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन र चलचित्र पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिनेछ ।
नेपाल होमस्टे ब्रान्डिङ र रोजगारी
ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले होमस्टेलाई विशेष प्राथमिकता दिएको छ। कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई “नेपाल होमस्टे” ब्रान्डिङसहित बुकिङ प्लेटफर्ममा आबद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेृख छ। स्थानीय कला र संस्कृतिलाई जोड्दै सीमान्तकृत तथा दलित समुदायको आयआर्जन र रोजगारीमा जोड दिइने भएको छ।
साहसिक पर्यटन र नयाँ पदमार्ग
नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउन पर्वतारोहण, ट्रेकिङ, र्याफ्टिङ र प्याराग्लाइडिङ लगायतका पूर्वाधार र सुरक्षा मापदण्ड सुदृढ गरिने भएको छ। हिमाली, मध्यपहाडी र तराई क्षेत्रमा कम्तीमा १० वटा नयाँ पदमार्ग पहिचान र प्रवर्धन गरिने नीति तथा कार्यक्रममा भनिएको छ। कर्णाली, सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका नयाँ गन्तव्यहरूलाई विशेष प्राथमिकता दिइने भएको छ।
डिजिटल प्रणाली र बोर्डको पुनर्संरचना
अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्न ‘एकद्वार डिजिटल पर्यटन प्रणाली’ लागु गरिने भएको छ। पर्वतीय पर्यटनको खोज तथा उद्धारलाई आधुनिक प्रविधिसँग जोडिनेछ ।
साथै, नेपाल पर्यटन बोर्डलाई सार्वजनिक-निजी साझेदारी मोडलमा पुनर्संरचना गरी थप नवप्रवर्तनशील बनाउने सरकारको घोषणा छ। ‘भिजिट नेपाल २०८५’ को पूर्व तयारीका लागि पर्यटकको बसाइ अवधि र खर्च बढाउने गरी अन्तर्राष्ट्रियस्तरमा प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।