काठमाडौं। नेपालको डिजिटल भुक्तानी प्रदायक कम्पनी आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना प्रयोगकर्ताका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ।
ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा ल्याइएको यो सेवा नेपालकै पहिलो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्ताको वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्दछ।
यस सुविधासँगै खल्ती नेपालमा नियो बैंकिङ युगको सुरुवात गर्ने पहिलो डिजिटल भुक्तानी प्लेटफर्म बनेको छ। यसअघि साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्तामा मात्र उपलब्ध रहेको यो सुविधा अब खल्तीका सम्पूर्ण केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि विस्तार गरिएको जनाइएको छ।
प्रयोगकर्ताले आफ्नो वालेटको मौज्दातमा हाल वार्षिक २.७५ प्रतिशतका दरले ब्याज प्राप्त गर्नेछन्। यो दर साझेदार बैंकको मानक अनुसार मासिक रूपमा परिवर्तन हुन सक्नेछ। वालेटमा रहेको रकममा दैनिक आधारमा ब्याज गणना हुनेछ र प्रत्येक महिनाको अन्त्यमा उक्त ब्याज रकम स्वतः वालेटमै जम्मा हुनेछ।
यो सुविधापछि खल्ती अब केवल भुक्तानीको माध्यम मात्र नभई एक आधुनिक डिजिटल बचत उपकरणका रूपमा समेत परिणत भएको छ। यो सेवा सक्रिय गर्न बैंक धाउनु पर्ने वा कागजी झन्झट बेहोर्नु पर्दैन। खल्ती एपबाटै तुरुन्तै यो प्रक्रिया सुरु गर्न सकिन्छ।
यो सेवा प्राप्त गर्न प्रयोगकर्ताको खाता अनिवार्य रूपमा केवाइसी प्रमाणित हुनुपर्ने छ। केवाइसी प्रमाणित भई कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको हुनुपर्ने, वा केवाइसी प्रमाणित भई वालेटमा रातभरिको मौज्दात कम्तीमा १ हजार रूपैयाँ कायम गरेको हुनुपर्ने भनिएको छ।
यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध छ। पिओएस र मर्चेन्ट खाताहरू यस ुसुपर वालेटु योजनाका लागि योग्य हुने छैनन्।